अनसनरत डा. केसी र सरकारवीच आज वार्ता हुने
काठमाडौं, १३ साउन । सरकारले त्रिवि शिक्षण अस्पताल हातामा अनशनरत डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । चिकित्सा शिक्षा सुधारको माग राखेर विगत ५ दिनदेखि आमरण अनसनमा रहेका डा. केसी र सरकार पक्षवीच आज दिउँसो साढे एक बजे सिंहदरवार परिसरमा वार्ता हुने भएको हो ।
वार्ताकै लागि सरकारले हिजो शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो ।
वार्ता टोलीमा स्वास्थ्य सचिव डा. किरण रेग्मी तथा प्रधानमन्त्री कार्यालयका सचिव गोपीनाथ मैनाली सदस्य रहेका छन् । सोही वार्ता टोलीले आज दिउँसो अनसनरत डा. केसी पक्षसंग वार्ता गर्ने भएको हो ।
डा. केसीका तर्फबाट डा. वाईपी सिंह, डा. रञ्जन सापकोटा तथा डा. जीवन क्षेत्री वार्तामा सहभागी हुनेछन् ।
चिकित्सा शिक्षा विधेयक पारित गरिनु पर्ने, चिकित्सा शिक्षा क्षेत्रमा भएका अनियमितता रोक्न ६ वटा प्रक्रिया अपनाउनुपर्ने, आईओएममा तत्काल डिनको सिफारिसअनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त हुनुपर्ने लगायतको माग राख्दै डा. केसी त्रिवि शिक्षण अस्पतालमा ५ दिनबाट ११ औं अनसनमा बसेका छन् ।