आंशिक प्राध्यापक रिले अनशनमा
काठमाडौं, १२ साउन । त्रिभुवन विश्वविद्यालयका आंशिक प्राध्यापकहरू आन्दोलित भएका छन् । उनीहरूले आफूलाई करार सेवाको माग गर्दै अनिश्चित आन्दोलन थालेको आंशिक प्राध्यापक संघका सदस्य घमराज लुइँटेलले बताए । उनीहरूले कीर्तिपुरस्थित त्रिवि उपकुलपतिको कार्यालयमा रिले अनशन सुरु गरेका छन् ।
कम्तीमा एक शैक्षिक सत्र पढाएका आंशिक प्राध्यापकलाई करारमा नियुक्ति गर्नुपर्ने माग गर्दै सो रिले अनशन आगामी साउन २२ गतेसम्म गरिने बताइएको छ र उनीहरूले त्रिविसेवा आयोगबाट नियमति रूपमा उपप्राध्यापकको विज्ञापन खुलाउनुपर्ने, शैक्षिक पात्रो लागू गर्नुपर्ने, त्रिविको शैक्षिक गुणस्तर बढाउनुपर्नेलगायत माग राखेका छन् । आंशिक प्राध्यापकहरूले त्रिविका स्थायी प्राध्यापकभन्दा त्रिविका क्याम्पसहरूमा ७० प्रतिशत कक्षा धानेको दाबी गरेका छन् ।
यसैसम्बन्धमा लुइँटेल भन्छन्, ‘हामीले त्रिविका क्याम्पसमा पढाइ हुने ७० प्रतिशत कक्षा धानेका छौं र त्यसैले राज्यले हाम्रो सेवालाई उच्च मूल्यांकन गर्दै करार सेवाको व्यवस्था गरियोस् ।’ उनले भने, ‘अनशनबाट हाम्रो माग सम्बोधन नभए त्योभन्दा कडा आन्दोलन गनेछौं ।’ त्रिविको केन्द्रीय क्याम्पस कीर्तिपुरसहित देशभरिका त्रिविका आंगिक क्याम्पसमा ०६३ सालदेखि करिब १ हजार २ सय आंशिक प्राध्यापक रहेका छन् ।
त्रिविका आंशिक प्राध्यापकले एक पिरियडको ३ सय ६० रुपैयाँ पाउने गरेका छन् । यसअघि, ०६२ सालमा तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले करारमा नियुक्त गरेको थियो । पछि ती प्राध्यापकलाई करार हुँदै प्रक्रिया पु¥याएर स्थायी गरिएको थियो ।