कोरियन भाषा परीक्षाको नतिजा भोलि
काठमाडौं, १० साउन । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा भोलि प्रकाशित हुने भएको छ । गत जेठ २७ र २८ गते भएको आठौं कोरियन भाषा परीक्षाको नतिजा भोलि सार्वजनिक हुने भएको हो ।
सरकारले यसअघि असार १६ गते नतिजा प्रकाशित गर्ने तालिका बनाएको थियो । तर, केही परीक्षार्थीले जेठ २७ र २८ गतेको परीक्षामा जाँच दिन नपाएपछि फेरि एक हप्ता कम्प्युटरमार्फत परीक्षा लिएर भोलि नतिजा प्रकाशित गर्न लागिएको हो ।
यो वर्ष ७५ हजार ५ सय ८० जनाले भाषा परीक्षाको लागि आवेदन दिएका थिए जस मध्ये ९ हजार ७ सय ९६ जना महिला र ६५ हजार ७ सय ८४ पुरुष थिए । यी मध्ये ६८ हजार ४ सय ६९ जना मात्र परीक्षामा सम्मिलित थिए । परिक्षामा सम्मिलीत मध्ये १० हजार २ सय जनाले कोरियामा गई काम गर्ने अवसर पाउने छन् ।
परीक्षामा उत्तीर्ण भएका सबै कोरिया जान पाउँछन् भन्ने ग्यारेन्टी भने नहुने ईपीएस शाखाले जनाएको छ । पास भएकालाई रोष्टर लिष्टमा राखेर लेबर कन्ट्रयाक्ट दिने गरिएको छ ।
कसरी हेर्ने नतिजा ?
नतिजा हेर्नको लागि नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वैदेशिक रोजगार विभाग अन्तरगत ई. पी. एस. कोरिया शाखाको वेब साइट http://www.dofe.gov.np/new/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको वेब साइट http://www.mole.gov.np/, नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयको बैदेशिक रोजगार विभागको बेव साइट http://www.dofe.gov.np/new/, अथवा इपिएस कोरियाको वेब साइट https://www.eps.go.kr/ मा मा हेर्न सक्नुहुनेछ ।