वीर अस्पतालमा करोडौ मुल्य पर्ने उपकरण आउँदै
काठमाडौ, ८ साउन । देशकै पुरानो र गरिबको अस्पताल भनेर चिनिने वीर अस्पतालले करोडौँ मुल्य पर्ने मेडिकल उपकरण भित्रयाउन लागेको छ । अस्पतालको सेवामा स्तरउन्नति गरी अस्पताललाई थप प्रभावकारी बनाउन भन्दै अस्पतालले करोडौ पर्ने उपकरण भित्राउन लागेको हो ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्रा.डा गणेश गुरुङ्गले वीर अस्पताललाई साधनस्रोत सम्पन्न गराउने योजना अनुरुप उपकरणहरु भित्रयाउन लागिएको जानकारी दिए । उनले क्यान्सर उपचारमा प्रयोग हुने टोमोथेरापी मेसिन लगायतका अन्य केही उपकरणहरु केही महिनाभित्रै ल्याउन लागिएको जानकारी दिए । उनले अत्याधुनिक मोडलको टोमोथेरापी मेसिनको लागि टेण्डर भएर आउन लागेको जानकारी दिदै उक्त मेसिनको मुल्य ३९ करोड पर्ने बताए ।
वीर अस्पतालमा क्यान्सरका बिरामीहरु धेरै आउने गर्दछन्, उपकुलपति प्रा.डा. गणेश गुरुङ्गले भने,“टोमोथेरापी मेसिन वीर अस्पताल आइसकेपछि उपभोक्ताले अधिकतम पाँचदेखि १० हजार रुपैयामा पुरै साइकलको रेडियोथेरापी पाउनेछन् ।”
उपकुलपति डा. गुरुङ्गले त्यहि रेडियोथेरापीको साइकलको अन्य क्यान्सर अस्पतालबाट हाल पनि ७५ हजारदेखि एकलाखसम्म लिइरहेको जानकारी दिए । डा. गुरुङ्गले २० करोड लागतमा इन्ट्रा अपरेटिभ सिटिस्क्यान मसिन, न्युरो सर्जरीको लागि ३ करोडको न्युरो इन्डोस्कोपिक मसिन ल्याउने प्रक्रिया अघि बढिसकेको जानकारी पनि दिए । उनले ५ करोड लागतमा न्युरो नेभिगेसन सिस्ट वीथ स्टेरियो ट्याक्टिस फ्रेम समेत ल्याउने प्रक्रिया बढेको बताए ।
उनले अत्याधुनिक मेसिनहरु आएसंगै आम सर्वसाधारणले सहजरुपमा स्तरीय उपचार सेवा पाउने दाबी गरे । यसअघि हामी बढीमा पाँच सात करोड रुपैयामा केही मेसिनहरु ल्याउनुपर्ने बाध्यात्मक अवस्था थियो, गुरुङ्गले भने,“यो वर्ष सरकारले अस्पतालको लागि जति पनि रकम जुटाइदिएपछि महङ्गा र अत्याधुनिक उपकरण ल्याउन सफल भएका हौ ।”
यसअघि वीर अस्पतालमा दैनिक एकहजार देखि १५ सय बिरामी आउने गरेकोमा पछिल्लो सयम दुई हजारदेखि २५ सयसम्म बिरामी आउने गरेका छन् ।