शिक्षण अस्पतालमा अत्याधुनिक हाडजोर्नी विभाग बन्दै
काठमाडौं, ६ साउन । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक सेवा सुविधासहितको छुट्टै हाडजोर्नी विभाग निर्माणको काम अगाडि बढेको छ । अस्पतालले आगामी ६ महिनाभित्रमा ७५ शैया क्षमताको विभाग निर्माण सक्नेगरि काम अगाडि बढाएको हो ।
अस्पतालका निर्देशक डा. दीपक प्रकाश महराले बिरामीको चाप अनुसार हाल प्रयोगमा भएको शैया निकै कम भएपछि छुट्टै भवनमा दोब्बर क्षमताको विभाग बनाउन लागिएको जानकारी दिए ।
उनले नयाँ हाडजोर्नी विभाग अस्पताल परिसरमा रहेको गणेशमान भवनमा बनिरहेको जनाएका छन् । सो भवनको दुई वटा तलामा हाडजोर्नीको छुट्टै अत्याधुनिक विभाग रहने भन्दै निर्देशक डा. महराले विभागका लागि छुट्टै शल्यकक्ष र आइसियु लगायतका अत्याधुनिक उपकरण रहने बताए ।
उक्त विभागमा तीनवटा हाईटेक मिडिया ब्रिज मोडुलर शल्यकक्ष रहने छ । यसका साथै विभागमा पाँच वटा आइसियु समेत राख्ने तयारी भएको उनले बताए ।
अस्पतालमा हाल ३४ शैयाको हाडजोर्नी विभाग छ ।