देशभरिका जिल्ला इन्चार्जहरु किन पेरिसडाँडा ?

भक्तपुर न्यूज

१ साउन २०७४ ५:१७

देशभरिका जिल्ला इन्चार्जहरु किन पेरिसडाँडा ?

काठमाडौं, १ साउन। नेकपा माओवादी केन्द्रका सबै जिल्ला इन्चार्ज राजधानी भित्रिएका छन् । सोमबार स्थानीय तहको निर्वाचनको समीक्षा र देशैभरि पार्टी संगठनको अवस्थाबारे छलफल गर्न आयोजना गरिएको बैठकमा भाग लिन सबै जिल्लाका इन्चार्ज र मुख्य नेताहरु राजधानी आएका हुन ।

मतका आधारमा संविधानसभाको दोश्रो निर्वाचन भन्दा बढी मत प्राप्त गरेपनि स्थानीय तहमा तेश्रो भएपछि माओवादीले संगठन र निर्वाचनबारे छलफल गर्न सचिवालयसहितको बिस्तारित बैठक आव्हान गरेको हो । बैठकमा सबै जिल्ला इन्चार्जहरुले जिल्लाको अवस्था, चुनावको समिक्षा र भावी दिनमा केन्द्र र स्थानीय तहमा गरिनुपर्ने काम कारवाहीबारे रिपोर्ट गर्ने माओवादी केन्द्रले जनाएको छ ।

यसअघि सम्पन्न सचिवालयको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीले जनस्तरमा आफ्ना एजेण्डा स्थापना गर्न नसकेको र संगठनलाई समेत गुणात्मक ढंगल परिचालन गर्न नसकेको निष्कर्ष निकालेको थियो । पार्टीको वर्ग आधार रहेका समुदायबाट संसदीय निर्वाचन जित्न कठीन भएको निष्कर्षसहित उक्त बैठकले जिल्लास्तरबाटै रिपोर्टिङ गर्ने गरी इन्चार्जसहितको बैठक गर्नुपर्ने निर्णय गरेको थियो ।

भोलि साउन २ गतेदेखि पार्टी हेडक्वार्टर पेरिसडाँडामा बस्ने बैठकका लागि सबैजसो जिल्ला इन्चार्जहरुले जिल्लाको रिपोर्ट तयार गरिसकेको पार्टीले जनाएको छ । अध्यक्ष पुष्रपकमल दाहाल ‘प्रचण्ड’ले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । राजनीतिक एजेण्डा माओवादीको हुने तर निर्वाचनमा भने माओवादीका पक्षमा जनलहर सिर्जना हुन नसक्नु, पार्टी र संगठन पद्धतीगत ढंगले परिचालन नहुनु, अन्तर्घातको अवस्था, चुनावी अभियान एकीकृत र प्रभावकारी नहुनु, बिरोधीहरुको भ्रम चिर्न र आफ्नै वर्ग आधारको मत समेत जोगाउन नसक्नु जस्ता कतिपय कारणले चुनावमा सोचेजस्तो प्रतिफल प्राप्त नभएको माओवादीको निष्कर्ष रहेको छ । भोलिदेखि शुरु हुने बैठकपछि पार्टीले प्रदेश र केन्द्रको निर्वाचन तथा संगठनको रणनीति तय गर्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *