देउवाले राखेको प्रस्ताव एमालेद्वारा अस्वीकार
काठमाडौं, २७ असार । संविधान संशोधनका लागि सघाउन प्रधानमन्त्री शेरबहादुर देउवाले राखेको प्रस्ताव प्रमुख विपक्षी दल नेकपा एमालेले ठाडै अस्वीकार गरेको छ ।
मंगलबार विहान बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले राजपालाई चुनावमा ल्याउन र संविधान कार्यान्वयनलाई सहज बनाउन संविधान संशोधन गर्नु पर्ने बताए । उनले संसदमा विचाराधीन संशोधन विधेयक पास गर्न सहयोगका लागि विपक्षी एमालेलाई आग्रह गरेका थिए ।
तर, एमालेले देउवाको प्रस्ताव ठाडै अस्वीकार गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सबै चुनावसम्म संशोधनलाई स्थगित गर्नु पर्ने र त्यसपछि खुला छलफल गर्न सकिने बताए ।
एमालेका शीर्ष नेताहरुले नै यसअघि स्थानीय चुनावपछि छलफल गर्न सकिने बताउँदै आएका थिए । तर, मंगलबारको बैठकमा प्रदेश र केन्द्रको चुनाव सकेपछि मात्र यसबाट छलफल गर्न सकिने भन्दै अहिले संशोधनमा सहमति जनाउन नसक्ने बताएका छन् ।