राजपामा विवाद बढ्दो, दल दर्ता हुन सकेन्
काठमाडौं, २२ असार । राष्ट्रिय जनता पार्टी नेपाल राजपा गठन भएको दुई महिना १४ दिन भएको छ तर, एकपछि अर्को विवादबाट राजपा नेपाल आफैंमा जेलिदै गएको छ । पार्टीका सहअध्यक्ष ह्रदयश त्रिपाठीको असन्तुष्टिको सम्बोधन नहुँदै पुनः अर्को विवाद देखिएको छ । विवादका कारण आज हुने भनिएको राजपा नेपालको दर्ता पनि प्रभावित हुन पुगेको छ ।
राजपा नेपाल अध्यक्ष मण्डलको बीचमा कुरा नमिलेपछि आज निर्वाचन आयोग नेपालमा पार्टी दर्ता गराउने अन्तिम समयमा आएर उक्त दर्ता रोकिएको हो । अध्यक्ष मण्डलका सदस्य अनिल कुमार झाले पार्टीको विधानमा असन्तुष्टि जनाएपछि तयारी अवस्थामा रहेको पार्टीको दर्ता प्रकृया अवरोध भएको हो । स्रोतका अनुसार अध्यक्ष मण्डलका सदस्य अनिल झाले विधानको प्रस्तावनामा नै नेपाल सद्भावना पार्टीका संस्थापक स्व।गजेन्द्रनारायण सिँह र बाबा रामजनम तिवारीको नाम उल्लेख गर्नुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको हो ।
हिजो राती अबेरसम्म भएको राजपा अध्यक्ष मण्डलको बैठकमा भएको छलफलका आधारमा नै पार्टी दर्ता गराउने सहमति भएको थियो । अध्यक्ष मण्डलका सदस्यहरु मंगलवार विजुलीवजारस्थित राजपाको सम्पर्क कार्यालयमा आएर पार्टी दर्ताको डकुमेन्टमा हस्ताक्षर गर्ने पार्टी दर्ताका लागि आयोग जाने सहमति भएको थियो तर, सबै अध्यक्ष मण्डलका सदस्य आएर हस्ताक्षर गरे । अनिल झा बैठकमा ढिलो आएपनि हस्ताक्षर गर्न नमानेको अध्यक्ष मण्डलका एक सदस्यले बताए ।
अध्यक्ष झाले विधानको प्रस्तावनामा नै मधेश आन्दोलनमा योगदान दिएका गजेन्द्रनारायण मण्डल र रामजनम तिवारीको नाम राख्नुपर्ने अडान राखेपछि अन्य नेताहरुले कुनै पनि दलको विधानमा पार्टीका नेताहरुको नाम हुँदैन भनि तर्क राख्दै मधेश आन्दोलनमा थुप्रै नेताले योगदान दिएका छन् सबैको नाम राखेर भ्याउँदैन, सबैको राख्ने क्रममा कसैको नाम छुट्न गयो भने झन विवाद हुने कारण नेताको नाम विधानको प्रस्तावनामा नराख्ने सहमति थियो ।
यद्यपी राजपा नेपालका सहमहामन्त्री राकेश मिश्रले दलहरुको बीचमा सहमति हुन नसकेको कारणले आज हुने भनिएको दर्ता हुन नसकेको बताए । अध्यक्ष मण्डलहरुको बीचमा छलफल टुँगोमा पुग्न नसकेकोले दर्ता हुन नसकेको बताए । उनले विधानमा कुनै किसिमको विवाद नरहेको दावी दावी समेत गरे ।
यसअघि कार्यदलले तयार पारेको विधानमा गजेन्द्रनारायण सिंह सहित अन्य नेताहरुको नाम पनि राख्ने तय भएको थियो । त्यसलाई अन्तिम रुप दिने काम अध्यक्ष मण्डलको थियो तर कुरा मिलेन । खासगरि राजपा अध्यक्ष मण्डलका सदस्य महेन्द्रराय यादवले गजेन्द्रनारायण सिहको नाम कुनै पनि हालतमा विधानको प्रस्तावनामा राख्न नदिने अडान लिएका थिए ।
स्रोतका अनुसार उनले आफूले गजेन्द्रनारायण सिँहको नामबाट राजनीति नगरेको कारण नाम उल्लेख गर्ने आवश्यकता नरहेको तर्क गरेका छन् । उनले आफू कुनै पनि नेताको नाम विधानमा उल्लेख नगराउने पक्षमा रहेको तर्क बैठकमा राखेको बताउँदै स्रोतले भन्यो । बरु विधान कसरी समावेशी तथा समानुपातिक हुनेतिर ध्यान दिनुपर्ने तर्क उनको थियो ।
नै पार्टीका एक अमुक नेताको नाम राख्दैमा नराख्दै केही फरक नपर्ने बरु पार्टीलाई कसरी समावेशी बनाउने, सामूहिक नेतृत्वको विकास कसरी गर्ने जस्ता कुरामा ध्यान दिनुपर्ने तर्क बैठकमा राखेको बताइन्छ । पार्टी दर्ता गराउने डकुमेन्टमा हिजो सबभन्दा पहिले महेन्द्रराय यादवले नै हस्ताक्षर गरेका छन्, त्यसपछि उनले शरतसिँह भण्डारीको घरमा राती ११ बजे गएर हस्ताक्षर गराएका थिए । अरु बाँकी नेताहरुले आज गरेका छन् तर अनिल झाले हस्ताक्षर नगरेपछि विवाद उत्पन्न भएको हो ।