२८१ स्थानीय तहमा जितको छिनोफानो
काठमाडौं, २० असार । दोस्रो चरणको स्थानीय चुनाव भएका ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमध्ये मंगलबार विहान ९ बजेसम्म २ सय ८१ तहको आधिकारिक परिणाम सार्वजनिक भएको छ । चुनावी नतिजामा नेकपा एमालेले सुरूदेखिकै अग्रता कायमै राखेको छ ।
अहिलेसम्म ३५ मध्ये २० जिल्लाका सबै स्थानीय तहको मतणना सकिइसकेको छ । एमालेको फराकिलो अग्रतालाई नेपाली कांग्रेसले साँघुरो पार्दै लैजाँदा अहिले दुई दलको फरक १५र१६ सिटको वरिपरि भइरहेको छ । एमालेले प्रदेश नम्बर १ मा ५४, प्रदेश ५ मा ३४ र प्रदेश ७ मा ३४ स्थानीय तह जितेर १ सय २२ स्थान सुरक्षित गरिसकेको छ ।
कांग्रेस १०७ स्थानीय तह जितेर दोस्रो स्थानमा रहेको छ । कांग्रेसले हालसम्म प्रदेश नम्बर १ मा ४१, प्रदेश ५ मा २९ र प्रदेश ७ मा ३७ स्थानीय तह जितेको छ । माओवादी केन्द्रले प्रदेश नम्बर १ मा ८, प्रदेश ५ मा १९ र प्रदेश ७ मा ८ स्थानीय तह जितेर ३५ सिटसहित तेस्रो स्थान सुरक्षित गरेको छ ।
यस्तै, संघीय समाजवादी फोरमले प्रदेश नम्बर ५ मा ५ र प्रदेश नम्बर १ मा एक स्थानीय तह जितेर ६ सिटसहित चौथो स्थानमा रहेको छ । फोरम लोकतान्त्रिकले प्रदेश नम्बर १ मा २, ५ मा २ र ७ मा एक स्थानीय तह जितेर ५ सिटसहित पाँचौं स्थानमा रहेको छ । राप्रपाले तीन र राष्ट्रिय जनमोर्चा दुर्इ स्थानीय जितेका छन् भने राष्ट्रिय जनता पार्टीका स्वतन्त्र उम्मेदवारले एक स्थान जितेका छन् ।