संसद बैठकमा सरकारको ध्यानाकर्षण
काठमाडौँ, १९ असार । व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा सांसदहरुले मुलुकका विभिन्न स्थानमा भएको प्राकृतिक प्रकोपमा परी जनधनको क्षति भएको भन्दै तत्काल राहत तथा उद्धारका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । बैठकको सुरुमा नै सांसद विन्दादेवी आलेले यही असार १७ गतेको बाढी पहिरोका कारण कास्कीमा तीन जनाको निधन भएको र दर्जनौँ घाइते भएको, बस्ती जोखिममा परेको भन्दै बाढीपहिरो नियन्त्रण र भूसंरक्षण गर्न सरकारको ध्यानाकर्षण गराइन्।
यस्तै, सांसद रवीन्द्र अधिकारीले पनि कास्कीको विभिन्न क्षेत्रमा बाढीपहिरोका कारण दर्जनौँ बस्ती जोखिममा परेको, जनधनको क्षति भएको, मानवीय अतिक्रमणका कारण नदीको प्राकृतिक बहाव रोकिएको भन्दै तत्काल उचित राहतको व्यवस्था गर्न आग्रह गरे। उनले सप्तरीको तिलाठीमा एक हजार ५०० घर जोखिममा परेको, ३० घर पूर्ण रुपमा क्षति भएको भन्दै भारतका कारण सीमा क्षेत्रमा बर्सेनि समस्या आउने गरेकाले सो को समाधानका लागि सरकारले कूटनीतिक पहल गर्नुपर्ने माग गरे।
यस्तै, सांसद अग्निप्रसाद सापकोटाले आइतबार सिन्धुपाल्चोकमा भएको सवारी दुर्घटनामा परी ठूलो जनधनको क्षति भएको, दुर्घटनामा घाईते भएका ४८ जनाकोे उपचारमा समस्या देखिएको, औषधिसमेत उनीहरुले पाउन नसकिएको र स्वास्थ्य मन्त्रालयले आवश्यक पहल गर्न नसकेकोमा गुनासो गरे । उनले भूकम्पका कारण जर्जर भएको सिन्धुपाल्चोक जिल्लामा प्राकृतिक विपद् सुरु भएको र केही स्थानमा जोखिम बढेकोे भन्दै तत्काल पूर्वतयारी गर्न आग्रह गरे।
सांसद डिल्लीप्रसाद काफ्लेले भ्रष्टाचार नियन्त्रणमा सरकारले ध्यान नदिएको गुनासो गर्दै सप्तरीको तिलाठीमा प्राकृतिक प्रकोपका कारण सयौँ घर तथा बस्ती जोखिममा परेको हुँदा सो कोे समाधान गर्न सरकारको ध्यानाकर्षण गराए। सांसद सुरेन्द्रप्रसाद यादवले तराई मधेसका विभिन्न स्थानमा बाढीपहिरोका कारण आमनागरिक प्रभावित भएको बताउँदै बाढीपहिरो समस्या समाधानका लागि सरकारले ध्यान नदिएको आरोप लगाए।
सांसद विकास लम्सालले हालैको बाढीपहिरोका कारण पर्वतको कुस्मा नगरपालिका लगायतका स्थानमा पाँच जनाको ज्यान गएको, उद्धार तथा राहत कार्यमा स्थानीय प्रशासनले ध्यान नदिएकामा आपत्ति जनाए। सांसद उमेश यादवले सप्तरीको विभिन्न स्थानमा खाँडो नदीका कारण बर्सेनि स्थानीयवासी समस्यामा पर्ने गरेको तर नदी नियन्त्रण कार्य बालुवामा पानी राखे झै भएको, जिम्मा लिएको सरकारी निकायले ध्यान नदिँदा सबैभन्दा बढी समस्यामा परेको उल्लेख गरे।
उनले सप्तरीको तिलाठी लगायतका स्थानमा देखिएको जोखिमको अध्ययनका लागि तत्काल संसदीय छानबिन टोली गठन गर्न तथा स्वास्थ्य शिविर सञ्चालन गर्न पनि आग्रह गरे। सांसद शिवचन्द्र चौधरीले तराई मधेसका विभिन्न जिल्ला र विशेषगरी सप्तरीमा बाढीका कारण दैनिक जीविकोपार्जनका लागि खाद्यान्नसमेत नभएको, स्थानीयवासी भोकभोकै बस्नु परेको भन्दै सरकारले आफ्नो दाियत्व पूरा गर्नुपर्नेमा जोड दिए।
सांसद श्यामकुमार श्रेष्ठ ९काभ्रे०ले पेट्रोलियम पदार्थमा रहेको नाफाका आधारमा घटाइएको मूल्य एकदमै कम रहेको र त्यसले जनजीवनमा कुनै प्रभाव नपार्ने बताउँदै नाम मात्रैको मूल्य घटाउनुले कुनै प्रभाव नपार्ने भएकाले यसमा सरकार नै व्यापारी बन्न खोज्नु गलत हो भने। उनले निगमको मासिक नाफा रु एक अर्ब बढी रहने गरेको सूचना सार्वजनिक भइरहेको सन्दर्भमा मूल्य घटाउने कार्य न्यून रहनु दुःखद रहेको भन्दै तत्काल वैज्ञानिक तवरले मूल्य समायोजन गर्न आग्रह गरे।