राष्ट्रपति भण्डारीको नगरपालिकामा काँग्रेस विजयी
मोरङ, १९ असार । वर्तमान राष्ट्रपति विद्या भण्डारी एवं मदन भण्डारीको गाउँ र मोरङको निर्वाचन क्षेत्र नम्बर १ का एमाले सांसद ऋषि पोखरेलको गाउँ भएको रतुवा माई नगरपालिकाको प्रमुख पद कांग्रेसले जितेको छ । राष्ट्रपति भण्डारी एवं स्व. मदन भण्डारीको घर रहेको साविक इटहरा गाविसलाई समेत समेटेर बनाइएको रतुवा माई नगरपालिकाको प्रमुखमा एमालेले हार व्यहोरेको हो ।
रतुवा माई नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रविन राईले ९ हजार ८ सय ९५ मत ल्याएर जितेका छन् । उनका प्रतिद्वन्द्वी एमाले उम्मदेवार टेकेन्द्र पोमुले ८ हजार १ सय मत ल्याएका छन् ।
उपप्रमुखको पदमा एमालेकी दयामन्त चुडालले आठ हजार ३ सय ७२ मत प्राप्त गरेर विजयी भएका छन् । उनकी निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी फूलवती गोडीले आठ हजार ३ सय १३ मत प्राप्त गरेकी हुन्।
जम्मा १० वटा वडा रहेको नगरपालिकामा एमालेले ३ वटा वडामा मात्रै जित हात पारेको छ भने बाँकीमा कांग्रेसले जितेको छ ।