निर्वाचन आयोगको आयो निर्देशन
काठमाडौं १७ असार । स्थानीय तह दोस्रो चरणको चुनावको मतगणना भइरहँदा मतपेटिकामा पाइएको मतलाई नै अन्तिम मानेर गणना गर्न निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । असार १४ गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको क्रममा मतपेटिकामा देखिएको मतसंख्या नै मतदान भएको वास्तविक मतसंख्या मानेर मतगणना कार्यलाई अगाडि बढाउन मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई आयोगले शनिवार आज निर्देशन दिएको हो ।
स्थानीय तह निर्वाचनअन्तर्गत २०७४ साल असार १४ गते सम्पन्न गाउँपालिका नगरपालिका निर्वाचनको मतगणनाको क्रममा कुनै कुनै स्थानीय तहमा मतदान अधिकृतले उल्लेख गरेको मतपत्रको संख्या र मतगणनाको क्रममा देखिएको मतपत्रको संख्यामा फरक परेको भन्ने सम्बन्धमा के गर्ने भन्ने द्विविधा उत्पन्न भएकोमा रितपूर्वक मतदान सम्पन्न भई मतपेटिका सिलबन्दी गरिएको र मतपेटिकामा लगाइएका सुरक्षण सिल दुरुस्त रहेको अवस्थामा मतगणना गर्दा मतपेटिकामा देखिएको मतसंख्या नै मतदान भएको वास्तविक मतसंख्या भएकाले सोही अनुरुप गणना गर्न दोस्रो चरणमा निर्वाचन सम्पन्न भएका सबै जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई निर्देशन दिने ।