आइतबारबाट सेयर कारोबार सुचारु हुने
काठमाडौं, १६ असार । भ्याटको विषयमा उठेको विवाद छलफलबाट टुंग्याउदै गर्ने र आइतवारबाट भने सेयर कारोबार सुचारु गर्ने सहमती ब्रोकरहरुले गरेको नेप्सेले बताएको छ ।
‘ अर्थमन्त्रालयले अहिले कारोबार सुचार गर्दै गर्न र विवादको विषय छलफलबाट टुंग्याउन भनेको छ, हामीले ब्रोकरहरुलाई त्यही जानकारी गराएका छौं, उनीहरु कारोबार खोल्न सकारात्मक छन्,’ नेप्सेका महाप्रबन्धक सिताराम थपलियाले भने । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको नयाँ कार्यालयबाट काम सुरु भएको औपचारिक उद्घाटनको कार्यक्रममा उनले यस्तो जानकारी गराएका हुन् ।
शुक्रवार बिहान नेप्सेमा ब्रोकरहरुसँग यसै विषयमा छलफल भएको थियो । उनले कहिलेबाट भ्याट लगाउन सुरु गर्ने भन्ने विषय भने अर्थमन्त्रालय लगायतसँगको छलफलबाट टुंगो लगाइने भएको जानकारी दिए ।
आइतवारको कारोबारमा नै भ्याट लगाएर गर्ने नगर्ने हामीले भन्न सक्ने विषय होइन, अहिले कारोबार सुचारु गराउनु भनेर अर्थमन्त्रालयबाट आएकोले हालकै आधारमा कारोबार गर्ने भन्ने बुझाई हाम्रो हो, कुन मितिबाट लगाउने भन्ने त छलफलबाट नै टुंगो लाग्छ,’ थपलियाले जानकारी गराए ।
बिहीवार आन्तरिक राजस्व कार्यालयले दुईवटा ब्रोकर इन्भेष्टमेन्ट म्यानेजमेन्ट र सुन्धारा सेक्युरिटिजलाई २०६९र७० देखिको भ्याट तिर्न पत्राचार गरेपछि ब्रोकरहरुले कारोबार नै रोकेका थिए ।