प्रधानमन्त्री देउवाको गृहनगर अमरगढी नगरपालिकामा एमाले विजयी
डडेल्धुरा, १६ असार । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको गृहनगर डडेल्धुराको अमरगढी नगरपालिकामै एमालेले विजय हात पारेको छ ।
अमरगढी नगरपालिकाको मेयरमा एमालेका विश्वेश्वरप्रसाद ओझा (विपिन) विजयी भएका छन् भने उपमेयरमा पनि एमालेकै संगीता भण्डारी विजयी भएकी छन् । अमरगढी जिताउन देउवा यसपटक एक साता मुकाम बनाएर बसेका थिए ।
एमाले उम्मेदवार विश्वेवर प्रसाद ओझाले काङ्ग्रेस उम्मेदवार डिल्लीराज जोशीलार्इ १ सय २८ मत अन्तरले हराएका हुन् । ओझाले ३ हजार ७ सय ६८ मत पाए भने जोशीले ३ हजार ६ सय ४० मत पाएका छन् । माओवादी उम्मेदवार शोभा भट्टको पक्षमा ३ सय ३९ मत परेको छ ।
उपप्रमुखमा एमालेकी संगिता भण्डारी विजयी भएकी छन् । उनले ३ हजार ५ सय १७ मत पाएकी छन् । उनको निकटतम् प्रतिद्वन्द्वी काङ्ग्रेसकी पार्वती झुकालले ३ हजार २ सय ६९ मत पाइन् । माओवादीका करुणाकर ओझाले ७ सय १७ मत पाएका छन् ।