सबैको ध्यान विराटनगर महानगरतिरै
काठमाडौं, १६ असार । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा सरकारका उच्च ओहोदाका पदाधिकारीदेखि राजनीतिक दल र सर्वसाधारण सबैको ध्यान विराटनगर महानगरपालिकातिरै केन्द्रीत भएको छ । राजनीतिक र औद्योगिक रुपमा अग्रस्थानमा रहेको विराटनगर महानगरपालिकाको मतगणनामा सबैको ध्यान केन्द्रीत भएको हो । दोस्रो चरणमा निर्वाचन भएका स्थानीय तहमा विराटनगरमात्रै महानगरपालिका हो। इटहरी, धरान, बुटवल, नेपालगन्ज दागंको घारेराही र तुलसीपुर र धनगढी उपमहानगरपालिका हुन् । विराटनगरको मत परिणामलाई यति बेला चासोका साथ हेरिएको छ ।
१ लाख १२ हजार ८ सय ३२ मतदाता रहेको विराटनगर महानगरमा ८० हजार ४ सय ९९ मत खसेको छ। प्रदेश नम्बर १ को सबैभन्दा ठूलो सहर विराटनगर महानगरमा कसले बाजी मार्ला भन्ने कुतुहल देशभर देखिन्छ।
विराटनगर महानगरपालिकामा आफ्नो जनाधार राम्रो रहेको भन्दै नेपाली कांग्रेस एक्लै प्रतिस्पर्धामा उत्रिएको छ। नेकपा एमाले र नेपाल लोकतान्त्रिक फोरम तथा संघीय समाजवादी फोरम र नेकपा माओवादी केन्द्रले मेयर र उपमेयरमा तालमेल गरेका छन्। कांग्रेसबाट मेयरमा भीम पराजुली र उपमेयरमा इन्दिरा कार्की प्रतिस्पर्धामा छन् । गठबन्धन गरेर चुनाव लडेका एमालेबाट मेयरमा विनोद ढकाल र उपमेयरमा लोकतान्त्रिक फोरमकी सुची चौधरी, संघीय फोरमबाट मेयरमा उमेश यादव र उपमेयरमा माओवादी केन्द्रकी नमिता न्यौपाने उम्मेदवार हुन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयरमा प्रह्लाद साह उम्मेदवार छन् ।
पहाडी, मधेसी, थारु र मुस्लिम समुदायको मिश्रित बसोवास रहेको विराटनगर महानगरपालिका जित्ने सबै उम्मेदवारको दाबी छ ।
२१ वडा रहेको विराटनगर महानगरको मतगणना स्थल आदर्श माविअगाडिको सडकमा मतपरिणाम बुझ्न सर्वसाधारणको ठूलो भीड छ। भारत, भुटान, बंगलादेश र चीनको गेट–वेका रुपमा समेत रहेको विराटनगर राजधानी काठमाडौपछिको दोस्रो ठूलो शहर पनि हो ।