जाजरकोटमा जीवनजल र सिटामोल अभाव
जाजरकोट, १५ असार । यहाँको नलगाड नगरपालिका–१३ भगवती औलगुर्ताका रती कामी ज्वरो आएर हैरान भएर उपचारका लागि स्थानीय भगवती स्वास्थ्य चौकी जाँदा सिटामोलसमेत नपाएपछि निरास भएर फर्किईन् ।
यहाँ सधैँ औषधिको अभाव भइरहन्छ । सामान्य खालका बिरामीको समेत उपचार हुँदैन उनी भन्छिन् । सरकारले निःशुल्क दिने भनेको औषधि कहिल्यै पाइँदैन । हामीजस्ता विकटका जनताका लागि सरकारी सेवा आकासको फल आँखा तरी मरजस्तै भएको छ । अर्का स्थानीय प्रेम वस्नेतले पनि सामान्य खालका औषधि समेत स्वास्थ्य चौकीमा नपाउने गरेको बताए ।
स्वास्थ्य चौकीमा जीवनजल समेत नभएको उनको भनाइ छ । भगवती स्वास्थ्य चौकीका स्वास्थ्य व्यवस्थापन समितिका पूर्व अध्यक्ष अमर शाही पनि स्वास्थ्य चौकीमा प्राय प्रयोगमा आउने औषधि नभएको जानकारी दिए । राज्यको उदासीनता र उपेक्षाले गर्दा उपचारका लागि आउने सर्वसाधारण निःशुल्क पाउनुपर्ने औषधिसमेत नपाएर रित्तै फर्कन बाध्य भएको उनले बताए ।
सुगमका स्वास्थ्य संस्थामा मात्र औषधि पठाउने तर दुर्गम तथा दूरदराजका स्वास्थ्य संस्थामा सधैँ यस्तै समस्या भइरहने उनको भनाइ छ ।स्वास्थ्य संस्थाबाट सरकारले ३५ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको दाबी गरे पनि जाजरकोटको भगवतीलगायतका ३१ वटा स्वास्थ्य चौकीमा कहिल्यै सबै प्रकारका औषधि पुगेको पाइँदैन । दुर्गमका बासिन्दा सामान्य रोगको उपचारका लागि पनि हजारौँ खर्चेर जिल्ला बाहिर जानुपर्ने बाध्यतामा छन् ।
सरकारले सबै नागरिकलाई स्वास्थ्य सेवाको सहज पहुँच पु¥याउने उद्वघोष गरे पनि जाजरकोटका दुर्गम बस्तीका नाम मात्रका यी स्वास्थ्य चौकीमा यतिबेला सिटामोल, जीवनजल, स्क्रयाबिज, एसिलक, एमजिटलगायतका अत्यावश्यक औषधि नहुँदा सेवाग्राही मर्कामा परेका हुन् ।
स्वास्थ्य चौकीका इन्चार्ज स्वास्थ्य सहायक अरुणकुमार यादवले औषधिको अभाव नभए पनि पर्याप्त नभएको जानकारी दिए । केही अत्यावश्क औषधिको अभाव भएकाले जिल्ला जनस्वास्थ्य कार्यालयमा माग गरिएको र अस्तव्यस्त अवस्थामा रहेको स्वास्थ्य संस्थाको सेवा प्रवाहमा सुधार ल्याउने प्रयास भइरहेको बताए ।
तर जिल्ला जनस्वास्थ्य प्रमुख धीरजङ्ग शाहले जिल्लामा औषधिको अभाव नभएको बताउँदै मागको आधारमा औषधि आपूर्ति गर्ने गरिएको बताए । रासस