सत्तापक्षले बुथ कब्जा गर्यो : एमाले
काठमाडौं, १४ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निर्वाचनमा सत्तारुढ पार्टीले सत्ताको दुरुपयोग गरेको आरोप लगाएको छ । प्रदेश नम्बर ७ का अछाम, बझाङ, डोटी, डडेल्धुरा, कैलालीलगायतका जिल्लामा राज्यसत्ताको दुरुपयोगबाट जनमतलाई प्रभावित पार्ने कोसिस गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ ।
आज एक विज्ञप्ति जारी गर्दै एमालेले सत्तारुढ दलले अछाम र डोटीमा मतदान केन्द्र कब्जा गरेको आरोप लगाएको छ । एमालेले अछामको साँफेबगर नगरपालिका–७ स्थित सरस्वती मावि मतदान केन्द्र र डोटीको केआई सिंह नगरपालिकाको मतदान केन्द्र सत्तारुढ दलले कब्जा गरेको दाबी गरेको छ । सत्तापक्षले अछामको मेल्लेख, पञ्चदेवल नपाको विनायक, बझाङको चैनपुर, कैलालीको बद्रगारियालगायतका ठाउँमा पनि धाँधली गरेको आरोप एमालेले लगाएको छ । धाँधली भएको मतदान केन्द्रहरुमा पुनः मतदान गराउन एमालेले माग गरेको छ ।