साढे १ लाख बढी सुरक्षाकर्मी परिचालन
काठमाडौै, १४ असार । दोश्रो चरणअन्तर्गत आज हुन गैरहेको स्थानीइ तहको निर्वाचनका लागि एक लाख ६३ हजार ८२३ जना सुरक्षाकर्मी परिचालन भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता दीपक काफ्लेले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र म्यादी प्रहरी गरी यो निर्वाचनमा उक्त सङ्ख्यामा सुरक्षाकर्मी परिचालन भएको जानकारी दिए । निर्वाचन स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न आवश्यक सबै सुरक्षा व्यवस्था गरिएको उनले बताए ।
प्रदेश नं १, ५ र ७ का ३५ जिल्लाका ३३४ स्थानीय तहमा हुने निर्वाचनका लागि चार हजार ५८१ मतदान स्थल र आठ हजार ३६४ मतदान केन्द्र निर्धारण गरिएको छ । निर्वाचनमा भित्रि घेरमा नेपाल प्रहरी र बाहिरी घेरमा सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी खटाइनेछ ।
नेत्रविक्रम चन्द नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी र आन्दोलनरत राष्ट्रिय जनता पार्टीको गतिविधिलाई सुरक्षा निकायले उच्च निगरानीमा राखेका छन् । कुनै घटना भइहाले तत्काल सुरक्षा निकाय पुग्ने गरी व्यवस्था मिलाइएको प्रवक्ता काफ्लेले बताए ।
दोश्रो चरणअन्तर्गतको यो निर्वाचनमा ६२ हजार ४०८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । निर्वाचनमा ६४ लाख ३२ हजार ७६५ मतदाताले मतदानमा सहभागी भई १५ हजार ३८ प्रतिनिधि निर्वाचित गर्नेछन् । मतदानमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९०० कर्मचारी खटिएका छन् ।