उपत्यकामा फेरि स्वाइन फ्लू
काठमाडौं, १३ असार । काठमाडौं उपत्यकामा फेरि स्वाइन फ्लू भेटिएको छ । कुलेश्वरकी ३८ वर्षीया महिलाको रगतमा स्वाइन फ्लूको एच् वान् एन् वान् भाइरस भेटिएको चिकित्सकले बताएका छन् ।
रगत परिक्षण गर्दा स्वाइन फ्लूको संक्रमण देखिएको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक तथा सरुवा रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुनले जानकारी दिए ।
रुघाखोकी, ज्वरो तथा स्वास फेर्नमा कठिनाई भएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । ‘स्वाइन फ्लू हो कि भन्ने शंका लागेर रक्त परीक्षण गर्दा पुष्टि भएपछि उनलाई तत्काल अस्पताल भर्ना गरिएको डा. पुनले बताए ।
उनकाअनुसार एक सातादेखि दिनदेखि रुघा, खोकी तथा हल्का ज्वरोसहितका लक्षण लिएर अस्पताल आउनेको संख्या बढेको छ । स्वाइन फ्लूकै संक्रमणका कारण यस वर्ष अस्पताल नै भर्ना भएकीे उनी दोश्रो हुन् भने यस मौसममा पहिलो हुन् ।
यसअघि गत वैशाखमा स्वाइन फ्लूको संक्रमणकै कारण ३० वर्षीय एक पुरुष अस्पताल भर्ना भएका थिए । ज्वरो सहित छाती दुख्ने समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए ।
उनीसँगै अन्य आधा दर्जन मानिसमा पनि स्वाइन फ्लूको संक्रमण देखिएको थियो र त्यसमध्ये तीन जनाले विभागबाटै औषधि समेत लगिसकेको चिकित्सकको भनाई छ ।
विशेषगरी जाडो सकिएर गर्मी सुरु भएलगत्तै वर्षाको समयमा यस्ता रोगका संक्रमण देखिने उनले बताए । उनक अनुसार हाल र्यालमा देखिएको यस्तो संक्रमण करिब १ दर्जनजतिमा देखिएको छ ।