मतदानका लागि सरकारी कागजात पाए पुग्छ : आयोग

भक्तपुर न्यूज

१३ असार २०७४ ६:०७

मतदानका लागि सरकारी कागजात पाए पुग्छ : आयोग

काठमाडौं, १३ असार । निर्वाचन आयोगले भोलि बुधबार हुने स्थानीय तहको दोस्रो चरणको मतदानमा मतदाता परिचयपत्र बाहेक अन्य सरकारी कागजातलाई पनि मान्यता दिने निर्णय गरेको छ ।

आयोगको सोमबार बसेको बैठकले दोस्रो चरणको स्थानीय तहको निर्वाचन प्रयोजनार्थ तयार पारिएको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले कुनै कारणवशः मतदाता परिचयपत्र प्राप्त गर्न नसकेमा वा प्राप्त गरेका मतदाताले परिचयपत्र हराएमा वा नष्ट भएमा उसको मताधिकार सुनिश्चित गर्न यस्तो निर्णय लिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए ।

फोटोसहितको मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्रका अतिरिक्त नेपाली नागरिकताको प्रमाणपत्र वा २०७० सालमा निर्वाचन आयोगबाट जारी गरिएको मतदाता परिचयपत्र वा राहदानी वा सवारीचालक अनुमतिपत्र वा जग्गाधनी प्रमाणपत्र वा सरकारी निकायबाट फोटोसहित जारी भएको अन्य परिचयपत्रसमेतका आधारमा मतदान गर्न पाउने व्यवस्था मिलाइएको उनको भनाई छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा सामान्य त्रुटि पाइएमा स्थानीय तह निर्वाचन निर्देशिका, २०७३ को दफा ४८ बमोजिम सानोतिनो भूलचुक मानी निजको नागरिकता प्रमाणपत्रको विवरणलाई मूल आधार लिई मतदान गर्न दिने व्यवस्था मिलाउन समेत आयोगले सम्बन्धित सबैलाई निर्देशन दिएको शर्माले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *