च्यातिएका मतपत्र सार्वेच्चमा ल्याईयो

भक्तपुर न्यूज

१३ असार २०७४ ३:५६

च्यातिएका मतपत्र सार्वेच्चमा ल्याईयो

काठमाडौं, १३ असार । भरतपुर महानगरपालिका वडा नम्बर १९ मा मतगणनाका क्रममा च्यातिएका मतपत्र काठमाडौँ ल्याईएको छ । सर्वोच्च अदालतको आदेश अनुसार प्रहरीको सुरक्षा घेराभित्र मतपत्र काठमाडौँ ल्याईएको हो । अदालतको आदेश अनुसार च्यातिएका मतपत्रहरु इजलासमा पेस हुनेछन्।

मंगलबार बिहान ८ः१५ को बुद्ध एयरको नियमित उडानबाट ती मतपत्र काठमाडौँ ल्याईएको निर्वाचन आयोगले जानकारी दिएको छ । अदालतको आदेश अनुसार च्यातिएका मतपत्रसँगै मतगणना स्थगित मुचुल्का, गणना स्थगित गर्ने मुख्य निर्वाचन कार्यालयको सूचना, निर्वाचन आयोगलाई बुझाइएको प्रतिवेदन पनि अदालत पेश गरिने भएको छ।

गएको जेठ १४ गते मध्यरातमा मतगणना जारी रहेको बेला माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थगित छ। भरतपुरका २९ मध्ये २७ वडाको गणना सम्पन्न भइसेको छ। मतपत्र च्यातिएको वडा १९ को मतगणना पनि अन्तिम चरणमा थियो।

मतपत्र च्यातिएपछि निर्वाचन आयोगले पुनः मतदानको निर्णय गरेको थियो। पुनः मतदानको निर्णयविरुद्ध एमालेका वडा नम्बर १९ का वडा सदस्य उम्मेदवार समेत रहेका गुन्जमान बिकले सर्वोच्चमा रिट दायर गरेका थिए। जेठ २० गते दायर मुद्दाको पेसी बुधबार ( भोली) का लागि तोकिएको छ।

अदालतले यसअघि जेठ २२ गते अन्तरकालीन अन्तरिम आदेश जारी गरेको थियो। उक्त अन्तरकालीन आदेशले निरन्तरता पाए पुनः मतदान गर्ने आयोगको निर्णय रोकिनेछ। अन्तरकालीन आदेश बदर भएमा भरतपुर १९ पुनः मतदान हुनेछ। सर्वोच्च अदालतले असार ६ गते एक साताभित्र च्यातिएका मतपत्रसहितका कागजात अदालतमा पठाउन आदेश गरेको थियो।

कामु प्रधान न्यायाधीश गोपालप्रसाद पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासले ती कागजपत्र पेश गर्न एक साताको समय दिएको थियो । अदालतले सक्कल कागजात र मिसिल पेश गर्नु भनेको आज सात दिन पुगेको छ ।

अदालतले मागेका सबै कागजपत्रहरु सर्वोच्च अदालतमा पेश भए पनि आजै बहस र फैसला भने हुने छैन । अदालतले मागेका प्रमाणहरु जम्मा भएपछि अर्को पेशी तोकिने र त्यही दिन बहसका क्रममा ती कागजहरु इजलासमा पेश हुने सर्बोच्च प्रशासनले जनाएको छ ।

भरतपुर महानगरपालिकाका २९ वडामध्ये २७ वटा वडाको मतगणना सकिँदा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले ७८३ मतले माआवादी र कांग्रेसकी साझा उम्मेदवार रेणु दाहाललाई पछि पारिरहेका थिए । १९ नम्बर वडाको मत गणना आधा भन्दा बढी सकिएपछि मतपत्र च्यातिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *