उपत्यकामा फेरी सौर्य बत्ति जडान
काठमाडौँ, १३ असार । काठमाडौँ उपत्यकालाई उज्यालो बनाउने लक्ष्यका ५० करोड लागतमा सौर्य बत्ति जडान कार्य अघि बढाईएको छ । काठमाडौँ महानगरपालिका र निजी क्षेत्रको सहकार्यमा बत्ती जडान अभियान थालिएको महानगरपालिकाले जनाएको छ।
असारको अन्त्यसम्म एक हजार २८५ वटा सौर्य प्रणाली जडान हुने महानगरले जनाएको छ। महानगरभित्रका मुख्य–मुख्य सडकलाई उज्यालो र झिलिमिली बनाउने लक्ष्यका साथ सौर्य बत्ती जडान कार्य अगाडि बढाइएको महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए। यसको जिम्मेवारी वि के ट्रेर्डस एन्ड सप्लायर्सलाई दिईएको छ।
दैनिक रातको समयमा २० देखि ३० वटा सौर्य प्रणाली जडान भइरहेको छ। सार्वजनिक निजी साझेदारी अन्तर्गत सप्लायर्सले २०७३ साल कात्तिकदेखि सडकमा सौर्य प्रणाली जडान गरिरहेको हो। सप्लायर्सका प्रमुख रोशन श्रीवास्तवले करिब पचास करोडको लागतमा प्रणाली जडान भइरहेको जानकारी दिए।
उनका अनुसार महानगर क्षेत्रमा जडान गरिएका सडक बत्ती आगामी दश वर्षपछि महानगरको स्वामित्वमा आउने छ। महानगरले उपलब्ध गराएको स्थानमा प्रवद्र्धकले प्रतिपोल आठ हजार ७०० वार्षिक शुल्क र विज्ञापनबापत सात हजार २०० महानगरलाई उपलब्ध गराउनेछ । त्यसबापत प्रवद्र्धकले सौर्य बत्तीको पोलमा विज्ञापन राख्न पाउनेछ।
हालसम्म महानगरका सडकमा ५६० वटा सौर्य बत्ती जडान गरिसकिएको छ भने असार मसान्तसम्म सबै जडान हुनेछन्। हाल जडान भएको सौर्य प्रणालीमा लिथियम ब्याट्री प्रयोग भएको छ भने आगलागी प्रतिरोधक पोल राखिएको प्रमुख श्रीवास्तव बताउँछन्।
महानगरको कोटेश्वर, तीनकुने, नयाँ बानेश्वर, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर, गौशला, पुरानोबानेश्वर, चाबहिलमा सौर्य बत्ती यसअघि नै जडान भइसकेको छ ।
त्यस्तै कलङ्की, त्रिपुरेश्वर, थापाथली चोक, माइतीघर चोक, केशरमहल चोक, ठमेल क्षेत्र, क्षेत्रपाटी, सोह्रखुट्टे चोक, बालाजु,नयाँ बसपार्क क्षेत्रमा ४०० बत्ती जडान गरिनेछ। दरबारमार्ग महेन्द्र सालिक चोक, काठमाडौँ प्लाजा, कृष्णपाउरोटी चोक, ज्ञानेश्वर चोक, मैतिदेवी, बत्तीसपुतली सडकखण्ड, मैतिदेवी डिल्लीबजार पुतलीसडक खण्डमा ३०० बत्ती जडान हुनेछ।
महानगरका प्रवक्ता कार्कीकाअनुसार पुरानो बानेश्वर चोकबाट नयाँ बानेश्वर, शङ्खमूल पुल, तीनकुने, कोटेश्वर, जडीबुटी, नरेफाँट, पुरानो बानेश्वर, भिमसेन गोला हुँदै सिनामङ्गल चोकसम्म ३८५ वटा सौर्य बत्ती राखिनेछ।
यसैगरी, अनामनगर हनुमानस्थान, बिजुली बजार, नयाँ बानेश्वर खण्ड, गौशला, चाबहिल, चुच्चेपाटी, बौद्ध हुँदै जोरपाटीसम्म २०० बत्ती जडान गर्ने लक्ष्य राखिएको महानगरले बताएको छ