ओलीले गरे सरकार र प्रहरी प्रशासनको चर्को आलोचना
काठमाडौं, १२ असार । प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले सरकार र प्रहरी प्रशासनको चर्को आलोचना गरेका छन् । दोस्रो चरणको चुनावको मौन समयको अवधिमा प्रेस चौतारीले एमाले पार्टी मुख्यालयमै एमाले अध्यक्ष ओलीको विशेष पत्रकार सम्मेलन गरेको थियो ।
पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले दोस्रो चरणको चुनाव स्वतन्त्र र निश्पक्ष रुपमा हुनु पर्नेमा जोड दिए । धरानमा एमाले उम्मेदवारको घरमा बम भेटिएको, आइतबार बुटवलमा आफू सहभागी भएको सभाको मञ्च पछाडि तीन वटा बम भेटिएको भन्दै ओलीले यसबारे सरकारको धारणा मागे ।
दोलखा घटनामा अभियुक्त बनाइएकाहरुलाई ज्यानमारा भन्दै ओलीले ‘ज्यानमारा’ छाड्ने र पीडित परिवार र एमाले सांसद पार्वत गुरुङमाथि नै मुद्दा लगाउने षड्यन्त्र गरेको आरोप लगाए ।
उनले सरकारलाई धेरै उत्ताउलो नहुन चेतावनी दिए । ‘बझाङ, दोलखामा जे देखियो, त्यस प्रकारको नहोस्,’ उनले भने, ‘निर्वाचन निश्पक्ष गराउनुस् । हाम्रो संयमको सीमा हुन्छ, अचाक्ली नगर्न म चेतावनी दिन चाहन्छु ।’
बाजुरामा उम्मेदवारी दर्ताको दिन माथिबाट ढुंगा हानेर एमाले कार्यकर्ताको हत्या भएको भन्दै ओलीले केही सञ्चार माध्यमले झडप भनेको भन्दै आक्रोश पोखे ।