गए राति १२ बजेदेखि मौन अवधि सुरु

भक्तपुर न्यूज

१२ असार २०७४ १:४९

गए राति १२ बजेदेखि मौन अवधि सुरु

काठमाडौं, १२ असार । स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि (आइतबार) गएराति १२ बजेबाट मौन अवधि सुरु भएको छ । निर्वाचन आचारसंहिताअनुसार मौन समयभित्र राजनीतिक दल तथा दलका उम्मेदवारहरूसमेतलाई निर्वाचनका लागि प्रचारप्रसारजन्य कुनै पनि किसिमका क्रियाकलाप गर्न पूर्ण रूपमा बन्देज लगाईएको छ ।
निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधिप्रसाद यादवले मतदानको समय सुरु हुनु ४८ घण्टाअघिबाट नै मौन अवधि सुरु हुने भन्दै सो अवधिमा राजनीतिक दलहरूले प्रचारप्रसारलगायतका कुनै पनि गतिविधि गर्न नपाउने बताए ।
मौन अवधिको उल्लंघन भएको पाइए वा कुनै पनि उम्मेदवारबाट उल्लंघन भए १ लाखसम्म जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही हुन सक्छ । उनका अनुसार मौन अवधि उल्लंघन गरे÷नगरेको आयोग स्वयंले अनुगमन गरी कारबाही गर्न सक्नेछ ।
मौन अवधिमा राजनीतिक दलहरूबाट आचारसंहिताविपरीत कुनै पनि गतिविधि नहुनेमा आफू विश्वस्त रहेको समेत आयुक्त उनले बताए। तर यही मौन अवधिमा नै दल तथा उम्मेदवारले मतदातालाई प्रभावित पार्न ‘चलखेल’ गर्ने गरेका छन् ।
यस्तै, निर्वाचनको मौन अवधिभित्र सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समेत कडा निगरानी हुने आयोगले जनाएको छ । सो समयमा मतदातालाई प्रभावित पार्ने गरी कुनै पनि दल तथा दलका उम्मेदवारहरूको पक्षपोषण हुने खालका समाचार तथा विज्ञापनहरू प्रसारण तथा प्रकाशन गर्न पाइनेछैन भने सामाजिक सञ्जालहरूमा समेत उम्मेदवारहरूको पक्ष तथा विपक्षमा कुनै पनि किसिमका समाग्री राख्न तथा लाइक कमेन्ट गर्न नपाइने आयोगको भनाइ छ ।

स्थानीय तहको दोस्रोे चरणअन्तर्गत १४ असार अर्थात् बुधबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुँदै छ । आयोगले निर्वाचनको दिन मतदान सम्पन्न नहुँदासम्म मौन अवधि रहने बताएको छ । दोस्रो चरणमा प्रदेश–१, ५ र ७ अन्तर्गत ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा निर्वाचन हुँदै छ ।

आचारसंहिताको परिच्छेद २ को नियम ५ घ अनुसार मौन अवधिमा पालना गर्नुपर्ने आचरणमा भनिएको छ, निर्वाचन आचारसंहितामा व्यवस्था भएअनुसार उम्मेदवारले मौन अवधि सुरु भएपछि निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाउनेछैनन् । यस्तै मौन समय सुरु हुनुअघि मतदान केन्द्रको ३ सय मिटरवरिपरि राखिएका निर्वाचन चिह्न तथा प्रचार सामग्री हटाएको हुनुपर्नेछ ।’
यस्तै एसएमएस, फेसबुक, भाइबर तथा विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र प्रचार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको निर्वाचन चिह्न अंकित पहिरन, टोपी, स्टिकर, लोगो, झोला, ट्याटुजस्ता सांकेतिक सामग्रीको प्रयोग गर्न, बिक्री गर्न वा प्रदर्शन गर्न वा गराउन नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नपाइने उल्लेख छ ।
मौन समयमा पालना गर्नुपर्ने आचारसंहिताका उल्लंघन भए निर्वाचन आयोगले सुरुमा उम्मेदवार वा राजनीतिक दललाई आचारसंहिता पालनाका लागि सचेत गराउनेछ । त्यसपछि पनि बेवास्ता गर्दै प्रचारप्रसार कायम राखे निर्वाचन आयोगले १ लाख जरिवानादेखि उम्मेदवारी रद्दसम्मको कारबाही गर्न सक्ने व्यवस्था स्थानीय निर्वाचन ऐन २०७३ मा उल्लेख छ ।
उम्मेदवार तथा राजनीतिक दलले मतदानका दिनसमेत आचारसंहिता पालना गर्नुपर्नेछ । उनीहरूले पालना गर्नुपर्ने ६ किसिमका आचारसंहिता रहेको आयोगले बताएको छ । त्यसमा मतदातालाई शान्तिपूर्वक मताधिकारको प्रयोग गर्न दिनुपर्ने, मतदानमा खटिएका कर्मचारी र सुरक्षाकर्मीलाई सहयोग गर्नुपर्ने उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *