मतदान गर्न काँग्रेसको आग्रह
काठमाडौँ, १२ असार । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतदान गर्न सम्पूर्ण जनतामा आग्रह गरेको छ । काँग्रेसले एक विज्ञप्तिमार्फत सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनका क्रममा स्थानीय तहको निर्वाचन हुन गइरहेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमार्फत् आर्थिक–सामाजिक रुपान्तरण गर्दै सुशासन र स्थानीय समृद्धि प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
काँग्रेसले देशलाई शान्ति र समृद्धिको बाटोमा अगाडि बढाउन, सामाजिक सद्भाव र जनताको एकता सुदृढ बनाउन आफ्ना उम्मेदवारलाई विजयी गराउन अपिल पनि गरेको छ । स्थानीय तहको दोस्रो चरणको निर्वाचन यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा हुँदैछ । अत्यन्त कठिन साधना र समर्पणबाट प्राप्त उपलब्धिलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तहको यस निर्वाचनबाट प्राप्त भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।