दोस्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण आजदेखि

भक्तपुर न्यूज

११ असार २०७४ ५:०९

दोस्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण आजदेखि

काठमाडौँ, ११ असार । असार १४ गते बुधबार हुने स्थानीय तह दोस्रो चरणको निर्वाचनका लागि स्थानीय तहका मतदातालाई आजदेखि मतदाता परिचयपत्र वितरण गरिदैं छ । योसँगै उनीहरुलाई मतदाता शिक्षा पनि दिइने छ । असार ११, १२ र १३ गते सम्बन्धित मतदान केन्द्रबाट जम्मा ६४ लाख ३२ हजार ७ सय ६५ जना मतदातालाई परिचयपत्र प्रदान गरिने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगले हरेक मतदान केन्द्रमा कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्तालाई खटाएको बताएको छ । निर्वाचन आयोगका अनुसार निर्वाचनमा खटिएका मतदान अधिकृतको टोलीले चार हजार ५ सय ८१ मतदान स्थलबाट मतदाता परिचयपत्र वितरण गर्नेछ । त्यस प्रयोजनका लागि आयोगले सुरक्षाकर्मी बाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरेको छ ।
सहायक प्रवक्ता मुकुन्द शर्माका अनुसार हरेक मतदान केन्द्रमा खटिएका मतदाता परिचयपत्र लिन जाँदा मतदाताले आफ्नो परिचय खुल्ने परिचयपत्र लिएर स्वयं जानुपर्नेछ । मतदान स्थलमा जान नसक्ने ज्येष्ठ नागरिक, सुत्केरी, अपाङ्गता भएका व्यक्ति, अशक्तहरूको मतदाता परिचपय लिनका लागि एकाघरको परिवारको सदस्य भएको यकिन गरी दिने व्यवस्था आयोगले मिलाएको छ ।
दोस्रो चरणको निर्वाचनमा प्रदेश नम्बर १, ५ र ७ मा गरी प्रति मतदान केन्द्र कम्तीमा एक जना मतदाता शिक्षा कार्यकर्ताको दरले करिब आठ हजार ३ सय ५० कर्मचारीलाई मतदाता शिक्षाका सामग्रीसहित परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *