राती १२ बजेदेखि मौन अवधि, घरदैलोमा दलहरु सक्रिय

भक्तपुर न्यूज

११ असार २०७४ ४:४८

राती १२ बजेदेखि मौन अवधि, घरदैलोमा दलहरु सक्रिय

काठमाडौं, ११ असार । अबको ३ दिनमा हुन लागेको स्थानीय तह दोस्रो चरण निर्वाचनका लागि निर्वाचन आयोगले प्रचार प्रसार गर्ने आज अन्तिम मिति तोकेको छ । आज राति १२ बजेबाट मौन अवधि सुरु हुने भएकाले मत माग्न तथा निर्वाचनको प्रसारप्रसार गर्न नपाइने हुँदा पनि आज अन्तिम प्रचारप्रसार हुँदै छ । निर्वाचनको परिणामलाई आफनो पोल्टामा पार्नका लागि सबै निर्वाचनमा सहभागी दलहरु र ती दलका शिर्ष नेता तथा कार्यकर्ताहरु मत माग्दै जनताका घरदैलोमा पुगेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवादेखि एमालेका अध्यक्ष केपी शर्मा ओली, लगायतका शिर्ष नेता र केन्द्रीय सदस्यहरु यतिबेला चुनावी अभियानमै राजधानी बाहिर रहेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भने हिजो मात्रै सुदुरपश्चिम नेपालबाट राजधानी फर्किएका छन् । राप्रपा अध्यक्ष कमल थापा उदयपुरबाट चुनावी सभा सकेर नवलपरासी, रूपन्देही हुँदै दाङबाट सुदुरपश्चिमका जिल्लामा पुगेका छन् । फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार पुर्वी नेपालका जिल्लामा पुगेका छन् ।
परिणाम आफ्नो पक्षमा पार्न राजनीतिक दलहरू अन्तिम शक्ति प्रदर्शनमा जुटेका छन् । प्रदेश–१, ५ र ७ गरी ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा नौ वटा दलले चुनावी तयारीलाई अन्तिम चरणमा पु¥याएका छन् । मौन अवधि सुरु हुन एक दिन बाँकी रहँदा सबैजसो दलका शीर्ष नेतृत्व जिल्लाजिल्लामै प्रचारप्रसारसहितका चुनावी सभामा केन्द्रित भएका छन् ।
बुधबार हुने दोस्रो चरणको निर्वाचनलाई आफ्नो पक्षमा पार्ने रणनीतिसहित सबैजसो राजनीतिक दलका शीर्ष नेतृत्व केही दिनअघि बाटै जिल्ला दौडाहामा छन् । मतदातालाई विभिन्न एजेन्डा देखाएर दलहरूले यतिबेला आफ्ना उम्मेदवारहरूलाई मत मगिरहेका छन् ।
स्थानीय तह निर्वाचनअन्तर्गत कुल ७ सय ४४ स्थानीय तहका कुल १८ हजार ५ सय ७२ निर्वाचन केन्द्रमध्ये दोस्रो चरणमा ३ सय ३४ तहका ८ हजार ३ सय ६४ केन्द्र र ४ हजार ५ सय ८१ स्थलमा निर्वाचन हुने आयोगले बताएको छ । जसमा एक महानगर, सात उपमहानर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिका रहेका छन् । १४ असारमा हुने निर्वाचनमा ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताले भाग लिनेछन् भने सो निर्वाचनबाट १५ हजार ३८ प्रतिनिधि निर्वाचित हुनेछन् ।
दोस्रो चरणको निर्वाचनका लागि मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी खटिने आयोगले बताएको छ । पहिलो चरणअन्तर्गत निर्वाचन सम्पन्न भएका जिल्ला रुकुम र नवलपरासीका केही भागमा समेत दोस्रो चरणमा निर्वाचन हुन लागेको आयोगले जानकारी दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *