दोस्रो चरणमा कांग्रेसको अत्यधिक बहुमत : प्रधानमन्त्री देउवा
काठमाडौं, ९ असार । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दोस्रो चरणको स्थानीय चुनावमा नेपाली कांग्रेसले बहुमतसहित जित हासिल गर्ने दावी गरेका छन् ।
असार १४ गते हुने स्थानीय चुनावको प्रचारका लागि गृहजिल्ला डँडेलधुरा जाने क्रममा धनगढी बिभानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै देउवाले आफू प्रधानमन्त्री भएसँगै मुलुकमा कांग्रेसको जनलहर आएको र पार्टीले बहुमत स्थानमा जित हासिल गर्ने बताए ।
सुदूरपश्चिमका दुई ठूला जलबिद्युत परियोजनाले आफ्नै कार्यकालमा गति लिने दावी उनको छ । उनले भने, ‘सुदूरपश्चिमको गौरवको आयोजना रहेको पश्चिम सेती र पञ्चेश्वर जलबिद्युत परियोजनाले मेरै पालामा गति लिनेछ ।’
देउवाले आफ्नै पालामा नेपाल र चीनबीच सडक सञ्जाल जोडिने पनि दावी गरे । ताप्लेजुङको ओलाङचोङगोलाबाट चीन जोड्ने सडकका लागि सरकारले बजेट बिनियोजन गरिसकेको बताउँदै प्रधानमन्त्री देउवाले सडक निर्माण प्रक्रिया तीव्र गतिमा सुरु हुने बताए ।