चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

भक्तपुर न्यूज

८ असार २०७४ ५:३७

चुनावको मुखैमा ८ अर्ब ७१ करोड बाँडिँदै

काठमाडौं, ८ असार । चुनावको मुखैमा कांग्रेस–माओवादी केन्द्रको गठबन्धन सरकारले द्वन्द्वपीडितका नाममा ८ अर्ब ७१ करोड रुपैयाँ आर्थिक सहायता निकासा गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले दिएको निर्देशन र आचारसंहिता विपरीत सरकारले रकम निकासा गरेको छ ।
शान्ति मन्त्रालयअन्तर्गतको राहत तथा पुनःस्थापना एकाइले ७३ जिल्लाका प्रशासन कार्यालयमा उक्त रकम निकासाका लागि अख्तियारी दिएको छ । तर आयोगले चुनावपछि मात्र रकम निकासा गर्न भनेको थियो ।
द्वन्द्वकालमा मृत्यु भएका र बेपत्ता सूचीमा परेका, विस्थापित, अपहरण, टुहुरा बालबालिकासहितका नाममा उक्त रकम प्रदान गर्ने मन्त्रिपरिषदको निर्णयलाई शान्ति मन्त्रालय मातहतको एकाइले कार्यान्वयनमा लगेको हो ।
यसअघि सर्वसाधारण मृतकमध्ये १३ हजार ४ सय २८ परिवारलाई प्रतिपरिवार ५ लाख रुपैयाँ सरकारले वितरण गरिसकेको छ । त्यसमा प्रतिपरिवार थप ५ लाख रुपैयाँ थपी १० लाख दिइने निर्णय भएको हो ।
त्यस्तै, मृतक सेना, प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी, शिक्षक प्रत्येकलाई १० लाख रुपैयाँ नबढ्ने गरी जिल्लामा निकासा गरिएको छ । विभिन्न जिल्लामा सूचीकृत विस्थापितहरूलाई १ अर्ब ४४ करोड रुपैयाँ वितरण गरिने भएको छ । यसअघि पनि विस्थापितमध्येका आंशिक परिवारलाई सरकारले रकम उपलब्ध गराएको थियो । सबै शीर्षकमा गरी कुल ८ अर्ब ७१ करोड ६२ लाख १० हजार रुपैयाँ निकासा गर्ने निर्णय भएको स्रोतले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *