आजबाट भूकम्पपीडितलाई ट्याक्सी नम्बर विरतण सुरू
काठमाडौं, ७ असार । भूकम्प अतिप्रभावित १४ जिल्लाका भूकम्पपीडितले आजबाट पन्ध्र सय थान ट्याक्सीको नम्बर प्लेट पाउने भएका छन् । यातायात व्यवस्था विभागले ललितपुरको च्यासल फुटबल ग्राउन्डमा सर्वसाधरणकै उपस्थितिमा गोला प्रथा गरी तीन दिनसम्म नम्बर वितरण गर्न लागेको हो ।
ट्याक्सीका लागि आवेदन दिएकामध्येबाट गोला प्रथामार्फत १५ सय जनालाई ट्याक्सीको प्लेट दिइनेछ । जिल्लागत रुपमा छुट्याएर तीन दिन लगातार गोलाप्रथा गर्न लागिएको हो ।
विभागका प्रवक्ता टोकराज पाण्डेका अनुसार पहिलो दिन आज काभ्रेपलान्चोक, नुवाकोट र रामेछापका चार सय ९१ जनालाई गोला प्रथाबाट ट्याक्सी नम्बर वितरण गरिने छ । यसैगरी दोस्रो दिन भोलि दोलखा, सिन्धुली र सिन्धुपाल्चोकका पाँच सय १३ जनालाई पनि गोला प्रथाबाट नै ट्याक्सी नम्बर वितरण गरिनेछ । अन्तिम दिन पर्सि काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, धादिङ, ओखलढुंगा, गोरखा र रसुवाका चार सय ९६ जना भूकम्पपीडितलाई ट्याक्सी नम्बर वितरण हुने भएको छ ।
बितेको साउन ५ देखि भदौ ५ सम्म एक लाख ४९ हजार पाँच सय ५८ भूकम्पपीडितले ट्याक्सीका लागि आवेदन दिएका थिए । विभागले ट्याक्सीको नम्बर प्लेट मात्रै उपलब्ध गराउने र ट्याक्सी खरिदमा कुनै सहुलियत वा अनुदान नदिइने जनाएको छ । सरकारले भूकम्पपीडितहरुलाई लक्षित गर्दै काठमाडौंमा १५ सय नयाँ ट्याक्सी वितरण गर्ने निर्णय गरेको थियो ।