भरतपुर-१९ को मतदानबारे आज सर्वोच्चले निर्णय दिने
काठमाडौं, ६ असार । चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि चुनाव गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिट निवेदनमाथि आज सुनुवाई गर्दै छ ।
यसअघि कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको संयुक्त इजलासमा तोकिएको सुनुवाई अन्य मुद्दाको चाप र समय अभावका कारण आजका लागि सारिएको थियो । सुनुवाई पटक पटक सरेपछि भरतपुर महानगरपालिकाको निर्वाचन अन्यौलमा परेको छ । सर्वोच्चले अन्तरिम आदेशबारे छलफल गर्न रिट निवेदक र विपक्षी बनाइएका निर्वाचन आयोग तथा नेपाल सरकारलाई बोलाएको छ ।
मतगणना भइरहेका बेला माओवादी केन्द्रका प्रतिनिधिले ९० वटा मतपत्र च्यातेपछि मतगणनास्थल अनाधिकृत कब्जा भएको पुष्टि गर्दै निर्वाचन आयोगले १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको थियो ।
भरतपुर वडा नम्बर १९ का एमालेका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक र अधिवक्ता तुलसीराम पाण्डेले निर्वाचन ऐनको दफा ५१ बमोजिम च्यातिएका मतपत्र बदर गरी बाँकी मतपत्रको गणना गर्न माग गर्दै रिट दायर गरेका थिए । मतगणना अन्तिम चरणमा पुगेका बेला माओवादी केन्द्रका प्रतिनिधिले जेठ १४ गते मतपत्र च्यातेका थिए ।