प्रधानमन्त्री देउवाको दिल्ली जाने तयारी

भक्तपुर न्यूज

६ असार २०७४ ५:४७

प्रधानमन्त्री देउवाको दिल्ली जाने तयारी

काठमाडौं, ६ असार । भारतको स्वतन्त्रता दिवसका अवसर पारेर प्रधानमन्त्री शेरबहादुर देउवाले साउन ३१ गते अर्थात अगस्ट १५ का दिन भारत भ्रमण गर्ने तयारी गरेका छन् । देउवा प्रधानमन्त्री भएलगत्तै भारतले उनलाई भ्रमणको निम्तो दिइसकेको छ । भ्रमणबारे दुई पक्षबीच ठोस तयारी नभए पनि नेपालले उक्त मिति उपयुक्त हुने अनौपचारिक सुझाब भारतलाई दिएको छ ।
भारतले विदेशी सरकारप्रमुखलाई गणतन्त्र दिवसका अवसरमा मात्रै प्रमुख अतिथिका रूपमा डाक्ने गरेको छ । भारतले राजा वीरेन्द्रलाई दुई दशकअघि गणतन्त्र दिवसका अवसरमा प्रमुख अतिथि बनाएर डाकेको थियो । नजिकको छिमेकीका हैसियतले प्रधानमन्त्री देउवाको भ्रमण स्वतन्त्रता दिवसका अवसरमा गराउनु उपयुक्त हुने सुझाब नयाँदिल्लीस्थित नेपाली दूतावासले भारतीय विदेश मन्त्रालयलाई दिएको छ ।
नेपालबाट अगस्ट १५को मिति उपयुक्त हुन्छ भन्ने अनौपचारिक प्रस्ताब आएको छ, हामी मितिका बारेमा छलफल गरेर आवश्यक निर्णय गर्छौँ, नेपालसँग थप कुराकानी गरेर भ्रमणको समय टुंग्याउँने भारतीय विदेश मन्त्रालय स्रोतले बताएको छ । भारतमा राष्ट्रपतिको निर्वाचन सकिएपछि भ्रमणको टुंगो लाग्ने बुझिएको छ । भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले प्रधानमन्त्रीको भ्रमणबारे भारतीय पक्षसँग कुराकानी भइरहेको तर टुंगो लागिनसकेको बताए । प्रधानमन्त्री देउवालाई भारत भ्रमणका लागि निम्ता गइसकेको छ, त्यसबारे हामी भारतीय पक्षसँग अनौपचारिकरुपमा सम्बादमा रहेका उपाध्यायले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *