विद्युतीय हस्ताक्षर प्रणाली लागू गरिदैं
काठमाडौँ, ५ असार । उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागु गर्ने तयारी अन्तिममा पुगेको विभागले जनाएको छ । व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले यो प्रणाली लागु गर्ने तयारी गरेको हो । चार महिना अगाडिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको बताएको छ ।
अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्ने गरेपनि विद्युतीय हस्ताक्षर सेवाको सुरुवातसँगै अनलाइनमार्फत नै हस्ताक्षर हुने व्यवस्था मिलेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले जानकारी दिए । विद्युतीय हस्ताक्षरको सुरुवातसँगै अनलाइनबाट भरेको फर्मलाई अनलाइनमार्फत नै स्वीकृति दिने हुँदा प्रिन्ट गरेर कर्मचारीको कोठा÷कोठामा चहार्ने कामको अब अन्त्य हुने उनले बताए ।
विद्युतीय हस्ताक्षरको प्रयोगसँगै उद्योग प्रशासनमा हुने जुनसुकै काम विद्युतीय हस्ताक्षरबाट गर्न मिल्ने प्रवक्ता भुषालको भनाई छ ।
उद्योग विभाग र कम्पनी रजिष्टार कार्यालयमा विद्युतीय हस्ताक्षर प्रयोग गर्नका लागि बोलपत्र आह्वान समेत गरेको र यो कामको सुरुवात विद्युतीय हस्ताक्षरको मान्यताप्राप्त कम्पनी रेडियन्ट नेपाल संस्थाले गरिसकेको विभागले जनाएको छ । विभागले सुरुमा २०० व्यक्तिलाई विद्युतीय हस्ताक्षर सेवा उपलब्ध गराउने र पछि आवश्यकतानुसार थप्दै लैजाने जनाएको छ ।