पूर्व प्रधानमन्त्री दाहाल र चीनियाँ राजदूत यु होङबीच भेट
काठमाडौं, ४ असार । पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपालका लागि चीनियाँ राजदूत यु होङबीच भेटबार्ता भएको छ ।
आज बिहान अध्यक्ष दाहाल निवास लाजिम्पाटमा भएको भेटमा दाहाल र होङबीच समसामयिक परिस्थिति र नेपाल–चीन सम्बन्धका विषयमा कुराकानी भएको दाहालको निजि सचिवालयले जनाएको छ ।
भेटमा राजदूत होङ अध्यक्ष दाहालको प्रधानमन्त्रीकालमा नेपाल र चीनबीचको सम्बन्ध थप बलियो बनेकोमा खुसी व्यक्त गरेका थिए । सो अवसरमा होङले दाहालको १० महिने प्रधानमन्त्रीकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको विचार व्यक्त गर्दै १० महिनाको छिटै अवधिमा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गरिन् ।
भेटका क्रममा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकी बीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताए । प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष दाहालले आफ्नो १० महिने प्रधानमन्त्री काल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गरेका थिए।