राजपा केन्द्रीय कोषाध्यक्ष यादव एमालेमा प्रवेश
काठमाडौं, ४ असार । राष्ट्रिय जनता पार्टी नेपालकी केन्द्रीय कोषाध्यक्ष अनिता यादव नेकपा एमालेमा प्रवेश गरेकी छन् । आज पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले यादवलाई पार्टी प्रवेश गराए । यादवको प्रवेशमा एमालेविरुद्ध तराई मधेसमा फैलाइएको भ्रमको जवाफ दिएको ओलीले बताए ।
यादवले राजपाले मधेस मुद्दा विर्सेको र स्वार्थकेन्द्रीत भएको बताएकी छन् । उनले जारी गरेको विज्ञप्तिमा मुलुकमा शान्ति, नेपाली जनताको चाहाना अनुसार सकारात्मक राजनीति जरुरी भएको भन्दै घृणाले बदलाको भावना जन्माउने र आरोपले समाजलाई द्वन्द्वमा धकेल्ने बताएकी छन् ।
एमाले प्रवेश गरेकी यादव तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका संस्थापक नेता श्रीकृष्ण यादवकी पत्नी हुन् । यादवको सवारी दुर्घटनामा निधन भएपछि अनिता तमलोपाको सक्रिय राजनीतिमा आइन् । उनी दोस्रो संविधानसभा निर्वाचनमा तमलोपाबाट धनुषा ५ को उम्मेदवार भएकी थिइन् । तर, १० हजार मत ल्याएकी अनिता यादव पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा एवं कांग्रेस उम्मेदवार चन्द्रमोहन यादवसँग पराजित भएकी थिइन् ।