तराई–मधेश बन्दले जनजीवन अत्यन्तै कष्टकर
काठमाडौं, ३ असार । तराई–मधेश बन्दको आज पाँचौ दिन पनि बन्द जारी राखेको छ । सरकारले दुई नम्बर प्रदेशमा निर्वाचन मिति सारेपनि राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन विरोधी कार्यक्रम अन्तर्गत बन्द जारी राखेको हो ।
बन्दका कारण धनुषा, सिरहा, सप्तरी, पर्सा, नवलपरासी, कपिलवस्तुलगायतका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताहरुले आज पनि विहानैदेखि विभिन्न स्थानमा प्रदर्शन गरिरहेका छन् ।
राजपाले दुई नम्बर प्रदेशको निर्वाचन स्थगित गरेपछि पाँच नम्बर प्रदेशमा आन्दोलनको तयारी गरेको छ । दुई नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र पाँच नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपाका अध्यक्ष मण्डलका नेताहरु आज भैरहवा जाँदैछन् ।
राजपाले सरकारको चुनाव सार्ने निर्णयपछि पनि यसअघि घोषित आन्दोलनका कार्यक्रमलाई यथावत राख्दै दोस्रो चरणको निर्वाचनका लागि मनोनयन दर्ता विथोल्न भोलि पनि आमहड्तालको घोषणा गरेको छ ।
आज झापादेखि पश्चिमको कञ्चनपुरसम्म मशाल जुलुल प्रदर्शन गर्ने कार्यक्रम छ । सरकारले आफ्नो सहमति बिना निर्वाचन सार्ने निर्णय गरेको भन्दै तीन वटा प्रदेशमा असार १४ मा गर्न लागिएको चुनाव विथोल्ने निर्णय राजपाले गरिसकेको छ ।