स्मार्ट लाइसेन्सका लागि ग्लोबल टेण्डर
काठमाडौं ३ असार । फर्जी र नक्कली लाईसेन्सलाई विस्थापित गर्ने योजना अनुरुप सरकारले एकैपटक ७ लाख ५० हजार स्मार्ट लाइसेन्स आपूर्ति गर्ने गरी ग्लोबल टेण्डर आह्वान गरेको छ ।
स्मार्ट लाइसेन्स अभावले उपत्यकाबाहिर पुरानै लाइसेन्स बाँडिरहनुपर्ने अवस्था अन्त्य गर्न यातायात ब्यवस्था विभागले एकैकपटक ७ लाख ५० हजार लाइसेन्स आपूर्तिका लागि टेण्डर आह्वान गरेको हो ।
यसमा अन्तर्राष्ट्रिय सेक्युरेटी प्रिन्टर्सहरुले दरखास्त हाल्न सक्नेछन् । विभागका महामनिर्देशक रुपनारायण भट्टराईले सबै प्रक्रिया सरल रुपमा सकिए आगामी कात्तिकसम्म यो टेण्डरमार्फत स्मार्ट लाइसेन्सको आपूर्ति भइसक्ने बताए । अहिले विभागले एडीबीको सहयोगमा सीधै मद्रास प्रिन्टर्ससँग कार्ड ल्याएर वितरण गरिरहेको छ । सुरुमा छापिएका १ लाख ६० हजार कार्ड सकिएपछि विभागले ४५ हजार कार्ड ल्याएको थियो ।
त्यो पनि वितरण भएर सकिएपछि पुनः ८० हजार स्मार्ट लाइसेन्स ल्याउन लागिएको छ । त्यसमध्ये १० हजार कार्ड आइसेकको छ भने ७० हजार केही दिनमै आइपुग्ने भट्टराईले बताए । स्मार्ट लाइसेन्स क्रेडिट कार्ड साइजको विद्युतीय कार्ड हो । जुन पोलिकार्बोनेटबाट बनेको हुनाले आगो र पानीले कुनै हानि पुर्याउन सक्दैन । यो टिकाउ, मजबुत र बोक्न सजिलो पनि छ ।