डोल्पाको जुफाल विमानस्थल आजदेखि बन्द
डोल्पा, १ असार । दुर्गम जिल्ला डोल्पामा यातायातको एकमात्र माध्यमका रुपमा रहेको जुफाल विमानस्थल आजदेखि बन्द भएको छ ।
आजदेखि विमानस्थल कालोपत्रको काम सुरु गरिएपछि जुफाल विमानस्थल बन्द भएको नागरिक उड्डयन प्राधिकरणको कार्यालय जुफालले जनाएको छ ।
नागरिक उड्डयन प्राधिकरणको रु. नौ करोड ८१ लाख रकममा स्तरोन्नति हुन लागेको उक्त विमानस्थलको कालोपत्र गर्न मात्रै झन्डै दुई महिना लाग्ने अनुमान भएपनि काम सुरु गर्दा यसै भन्न नसकिने आयोजना प्रमुख वीरप्रसाद शाहीले जानकारी दिए । विमानस्थल कालोपत्र भएको केही दिनमै सञ्चालनमा ल्याउन सकिने आयोजना प्रमुख शाहीको भनाइ छ ।
जुफाल विमानस्थलको कालोपत्र गर्ने कार्य सम्पन्न नहुन्जेलसम्म त्रिपुरासुन्दरी नगरपालिकास्थित पहाडामा पर्ने मसिनेचौर विमानस्थल सञ्चालनमा ल्याउने तयारी भइरहेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ ।