कात्तिकमा तेस्रो चरणको चुनाव : गच्छदार
विराटनगर, ३१ जेठ । पप्रधान एव स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले राष्ट्रिय जनता पार्टी सहभागी हुने ग्यारेन्टी भए मधेसका ११ जिल्लामा तेस्रो चरणमा चुनाव गर्न सकिने बताएका छन् ।
आज विराटनगरमा पत्रकारसँग कुरा गर्दै गच्छदारले दोस्रो चरणमा हुन नसक्ने ठाउँमा तेस्रो चरणमा कात्तिक महिनामा निर्वाचन गर्ने बताएका हुन् ।
सरकारले जसरी पनि दोस्रो चरणमा स्थानीय तहको चुनाव असार १४ गते नै सम्पन्न गराउन खोजेको तर हुन नसक्ने जिल्लामा तेस्रो चरणमा कार्तिक महिनामा निर्वाचन गराउने अवस्था रहेको बताएका हुन् ।
गच्छदारले घुमाउरो ढंगले २ र ५ नं प्रदेशको चुनाव कात्तिक महिनामा गर्ने बताए । त्यस बाहेकका प्रदेशमा असार १४ गते नै चुनाव हुने उनले बताए ।
उनले आफू जवरजस्ती चुनाव गराउने पक्षमा नरहेको बताए । बलपूर्वक गरिने चुनावले निकास दिनुको साटो द्वन्द्वलाई वढावा दिने गच्छदारको भनाइ छ ।