राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

भक्तपुर न्यूज

३१ जेठ २०७४ ३:१२

राजपाको लिखित प्रतिवध्दता माग्न आज छलफल

काठमाडौं, ३१ जेठ । राष्ट्रिय जनता पार्टीले निर्वाचनमा भाग लिने लिखित प्रतिवध्दता जनाएमा असार १४ को निर्वाचन मिति सार्नेमा सत्तारुढ दल सहमत भएका छन् । तर संविधान संशोधनलाई मुख्य माग राखेर चर्को विरोधमा उत्रिसकेको राजपाले कस्तो प्रतिक्रिया जनाउने हो त्यसअनुसार निर्णय गर्ने मनस्थितिमा प्रमुख दलका नेता पुगेका छन् । आज बुधबार सत्तारुढ दल र राजपाका नेतावीच छलफल हुँदैछ ।

आजकै छलफललेअसार १४ को निर्वाचन सर्ने या नसर्ने भन्ने टुंगो लाग्ने छ । यसअघि तीनपटक सरेर असार १४ मा पुगेको फेरि सर्न सक्ने आशंका पनि गरिएको छ । प्रमुख दलका शीर्ष नेता र राष्ट्रिय जनता पार्टी राजपाका नेताले दोस्रो चरणको निर्वाचनमा सहभागिताबारे बुधबार दिउँसो ४ बजे संयुक्त बैठकमा छलफल गरी सहमति खोज्ने भएका छन् । दोस्रो चरणको निर्वाचनमा राजपाको सहभागिता कसरी सुनिश्चित गराउन सकिन्छ भन्ने विषयमा मंगलबार पनि प्रमुख दलका शीर्ष नेताबीच छलफल भएको थियो ।

असार १४ गतेको निर्वाचनपूर्व संविधान संशोधनलगायत आफ्नो माग सम्बोधन हुनुपर्ने अडानसहित राजपाले निर्वाचनमा भाग नलिने निर्णय गरेपछि सत्तारूढ दल र प्रमुख प्रतिपक्ष दलका नेताबीच मंगलबार भएको छलफलमा निर्वाचनमा आउने लिखित प्रतिबद्धता दिएमा राजपाका मागहरुबारे आफूहरु सकारात्मक हुने स्पष्ट गरिएको छ ।

सभामुखको कार्यालयमा भएको छलफलपछि प्रमुख प्रतिपक्ष एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता पक्षले निर्वाचन सार्न वा नगराउन खोजेको हो वा के गर्न खोजेको हो रु आफ्नो दलले नबुझे पनि असार १४ मै बाँकी चार प्रदेशको स्थानीय तहको निर्वाचन हुनुपर्ने बताए।

ओलीले भने, “निर्वाचन अगाडि संविधान संशोधन हुन सक्दैन, निर्वाचनपश्चात् संशोधनलगायत मुलुक भित्रका उठेका समस्या समाधानका लागि छलफल गर्न एमाले सदैव तयार छ । संशोधन हुन सक्दैन भन्ने हाम्रो भनाइ होइन तर सत्ता पक्षले राजपालाई आफ्नो हितमा उपयोग गर्ने गरी निर्वाचन बहिष्कार गराउन खोजेको हो कि भन्ने शङ्का पैदा भएको छ ।”

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्वाचन सार्ने नभई कसरी राजपालाई सहभागी गराउन सकिन्छ भन्नेमा छलफल केन्द्रित रहेको स्पष्ट पारे। माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार असार १४ मै निर्वाचन गराउन प्रतिबद्ध रहेकाले निर्वाचनमा सहभागी हुने लिखित प्रतिबद्धता व्यक्त गरेमा राजपाले उठाएका मागबारे प्रमुख दलबीच संयुक्त रुपमा सहमतिमा पुग्ने प्रयास भइरहेको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार सहितका नेता सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *