राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

भक्तपुर न्यूज

२३ जेठ २०७४ १०:२७

राजपा र समाजवादी फोरमसँग तीनबुँदे सम्झौता

काठमाडौं, २३ जेठ । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री निर्वाचनमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाका पक्षमा मतदान गर्ने भएको छ ।
संविधान संशोधनलगायत तीनबुँदे सहमतिसँगै राजपाले प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा सभापति देउवालाई समर्थन गर्ने निर्णय गरेको हो । उक्त सहमतिपत्रमा काँग्रेसका सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र राजपाका अध्यक्षमण्डलका नेता महेन्द्र राय यादव, शरदसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णले हस्ताक्षर गरेका छन् ।
अघिल्लो सरकार गठनका बेला भएको तीनबुँदे सहमति कार्यान्वयनको प्रतिबद्धता, सङ्घीय आयोग गठन, संविधान संशोधन, मधेस आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ता, घाइतेलाई उपचार र पीडितलाई क्षतिपूर्तिका बाँकी काम पूरा गर्नाका साथै स्थानीय तहको सङ्ख्या राजनीतिक सहमतिका आधारमा वृद्धि गर्ने सैद्धान्तिक सहमति भएको छ ।
सहमतिको तेस्रो बुँदामा प्रधानमन्त्रीका लागि हुने निर्वाचनमा काँग्रेस सभापति देउवाका पक्षमा मतदान गरिने उल्लेख छ । राजपाबाट व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने २४ सांसद छन् ।
यसैगरी सङ्घीय समाजवादी फोरम नेपालसँग पनि सोही तीनबुँदे सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा काँग्रेसका सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेका छन् ।
फोरमसँग व्यस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने १५ सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *