एमालेले भोलि देउवालाई प्रधानमन्त्री बन्न नदिने, संसदको अवरोध कायमै
काठमाडौं, २० जेठ । बामदेव गौतमलाई प्रधानमन्त्रीको उम्मदेवार बनाउने चर्चा चलिरहेका बेला प्रमुख प्रतिपक्षी दल एमालेले अन्ततः प्रधानमन्त्री चयन प्रक्रियामै सहभागिता नजनाउने निर्णय गरेको छ । प्रधानमन्त्री पदका लागि संसद सचिवालले गरेको उम्मेदवारी आह्वानलाई एमालेले बहिस्कार गरेको छ ।
प्रधानमन्त्रीमा देउवाको मात्रै उम्मेदवारी परेको छ । आइतबार संसदमा प्रधानमन्त्री चयन गर्ने कार्यसूचि छ । तर, एमालेले संसदको अवरोध खोलेको छैन । भोलि पनि अवरोध जारी राख्ने र मतदानको प्रक्रियामा भाग नलिले उसले जनाएको छ ।
‘प्रधानमन्त्रीको चयन प्रक्रियामै हामीले असहमति जनाएका छौं,’ एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले भने, ‘राष्ट्रपतिको पत्र संसदमा टेबल नै नगरी प्रधानमन्त्री चयन प्रक्रिया अघि बढाइएकाले यो त्रुटीपूर्ण छ, यसमा एमाले सहभागी हुँदैन ।’ प्रधानमन्त्री चयन गर्ने कार्यसूची रहेको भए पनि आइतबार एमालेले संसदको अवरोध जारी राख्ने र देउवालाई प्रधानमन्त्री बन्न नदिने रणनीति अघि सारेको छ ।