भरतपुर महानगरको मतगणना निर्णय आज हुँदै
काठमाडौं, १९ जेठ । निर्वाचन आयोगले चितवनको भरतपुर महानगरपालिकाको मतगणनाका विषयमा आज निर्णय गर्ने भएको छ ।
हिजो निर्वाचन आयोगका कर्मचारीसहित मतगणनास्थल पुगेको ४६ जनाको टोलिले च्यातिएका मतपत्र गणना गरेको थियो । टोलीले भरतपुर महानगरपालिकाको १९ नम्वर वडाको २८ सय ९७ मत मध्ये ९० वटा मतपत्र च्यातिएको निष्कर्ष निकालेको थियो ।
मतपत्र च्यातिएपछि रोकिएको मतगणा फेरि सुरु गर्नु पर्ने माग गर्दै एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ भने सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रले फेरि मतदान गर्नुपर्ने माग गरेका छन् । गत १४ गते मध्यराति मतगणनाका क्रममा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए ।
पहिलो चरणको निर्वाचनअन्तर्गत मतपरिणाम सार्वजनिक हुन बाँकी रहेको एक मात्र स्थानीय तह भरतपुर महानगरपालिका हो ।
यस्तो छ कानुनी व्यवस्था
निर्वाचन ऐनमा भने यस्तो अवस्थामा पुनः मतदान गर्नुपर्ने उल्लेख छ । स्थानीय तह निर्वाचन ऐन, २०७३ ले मतपत्र च्यातिएको अवस्थामा पुनः मतदान गर्नुपर्ने कानुनी व्यवस्था गरेको हो ।
निर्वाचन ऐन दफा ४९ को ९१० मा भनिएको छ, मतगणना पूरा हुनुभन्दा पहिले कुनै मतदान केन्द्रमा प्रयोग गरिएको मतपत्र, मतपत्र रहेको मतपेटिका निर्वाचन अधिकृतको नियन्त्रणबाट गैरकानुनी तवरले अन्यत्र लगिएमा वा खोलिएमा वा नोक्सान गरिएमा वा तोडफोड गरिएमा वा हराएमा वा दुर्घटनावस नोक्सान भएमा निर्वाचन अधिकृतले मतगणनाको काम स्थगित गरी त्यसको प्रतिवेदन आयोगलाई तुरुन्त दिनु पर्नेछ ।
४९ कै उपदफमा भनिएको छ, उपदफा (१) बमोजिम मतगणनाको काम स्थगित गरिएपछि आयोगले त्यस्तो मतदान केन्द्रको सम्पूर्ण मतदान अवैध भएको घोषणा गर्नेछ र आयोगको निर्देशनमा निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुनः मतदान गर्ने स्थान, मिति र समय यथाशिघ्र तोकी सूचना प्रकाशन गर्ने छ ।