संसद बैठक कार्यसुचिमा प्रवेश नै नभई स्थगित
काठमाण्डौ, जेठ १८ । व्यवस्थापिका–संसदको आजको बैठक पनि प्रमुख प्रतिपक्षी नेकपा एमालेको अवरोधका कारण कार्यसूचीमा प्रवेश नगरी स्थगन भएको छ । भरतपुर महानगरपालिकाको मतगणना जारी रहँदा मतपत्र च्यातिएको घटनाको विरोध गर्दै आएको एमालेले सदन अवरोध गरेको हो ।
बैठक आरम्भ हुनासाथ एमालेका सांसदहरु आफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । एमालेका सांसदहरु उठेपछि नियमापत्ति गर्दै नेकपा माओवादी केन्द्रका रामनारायण बिँडारीले बोल्न समय माग गरे तर उनले बोल्न पाएनन ।
विरोध जनाइरहेका सांसदहरुलाई बस्न आग्रह गर्दा नमानेपछि सभामुख ओनसरी घर्तीले विपक्षीले अवरोध गरेको अवस्थामा संसदको कारबाही अघि बढ्न नसक्ने जनाएर बैठक यही जेठ २१ गते आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको घोषणा गरिन ।
स्थानीय तहको निर्वाचनअन्तर्गत् भरतपुर महानगरपालिकामा केही मतपत्र च्यातिएका नाममा पुनः मतदान नगराइ मतगणना जारी राख्नुपर्ने एमालेको माग थियो ।