सरकार बहुमतीय प्रक्रियामा जाँदै, देउवाको सत्तारोहणको तयारी
काठमाडौं, १८ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकारका लागि दिएको समय बुधबार राती १२ बजे सकिएको छ । निर्धारित समयभित्र सहमतीय सरकार बन्न नसकेपछि व्यवस्थापिका संसदमा ठूलो दलको हैसियतले नेपाली कांग्रेसले बहुमतीय सरकारको दावी गर्ने छ ।
माओवादी केन्द्र र नेपाल कांग्रेसबीच यसअघि भएको समझदारी अनुरुप सभापति देउवाले बहुमतीय सरकारका लागि दावी प्रस्तुत गर्ने छन् । सहमतीय सरकारका लागि नेपाली कांग्रेसको अनुरोधलाई अस्वीकार गर्दै एमालेले बैठक बहिस्कार गरेको थियो । नेपाली कांग्रेसले राष्ट्रपतिको पत्रका आधारमा सहमतीको सरकार गठन गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरुको बैठक बोलाएको थियो । मंगलबार बोलाइएको उक्त बैठकमा नेकपा एमाले उपस्थित भएन । एमालेले सार्वजनिकरुपमा भने सहमतिको सरकार भन्दै आएको छ । तर औपचारिक बैठक बहिस्कार गरेर एमालेले सहमतिमा आउन नसक्ने बताएको हो ।
सहमतीय सरकारको सम्भावनाबारे राष्ट्रपतिले समेत बुधबार दलहरुलाई शीतल निवासमा बोलाएर छलफल गरेकी थिइन ।
राष्ट्रपतिले बोलाएको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा, राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतो, फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार, राष्ट्रिय जनमोर्चा नेपालका अध्यक्ष चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालको उपस्थिति थियो ।
उक्त अवसरमा राष्ट्रपतिले ‘तपाईंहरूलाई सहमतिको सरकार गठन गर्न बुधबार राति १२ बजेसम्मको सयम सीमा दिएको छु । मलाई आशा छ, तपाईंहरू एक हुनुहुनेछ । कदाचित सहमतीय सरकार गठनका लागि एक हुन नसके पनि राष्ट्रिय मुद्दामा आगामी दिन एक हुँदै अघि बढ्नुहुनेछ ।’ भन्ने सन्देश दिएकी थिइन ।
राष्ट्रपति भण्डारीले सहमतिको सरकार गठनका लागि दिएको समयलाई सदुपयोग गर्न नेताहरूलाई आग्रह गरेको उनका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।‘मुलुकको अवस्था ख्याल गरेर सहमतिको सरकार गठन गर्नुहोस्, राष्ट्रिय सहमतिको सरकार गठन नभए बिहीबारबाट बहुमतीय प्रक्रिया सुरु हुन्छ’ राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै स्वकीय सचिव अधिकारीले जानकारी दिए ।