सेयर बजार १३ अंकले बढ्यो
काठमाडौं, १७ जेठ । आज सेयर बजारको परिसूचक नेप्से १३ अंकले बढेको छ । राष्ट्रिय जनता पार्टीले आमहड्तालका कार्यक्रम फिर्ता गरेसँगै बजारले नयाँ मोड लिएको हो ।
कारोबार सुरु भएको २ घण्टासम्म ओर्लिएको नेप्से अन्ततः अन्तिम समयमा आएर अघिल्लो दिनको तुलनामा १३ दशमलव ६८ अंकले बढेको हो । सो वृद्धिसँगै नेप्से १६ सय ८ अंकमा अडेको छ। बजारको पुँजीकरण १८ खर्ब ८१ अर्ब पुगेको छ ।
यस दिन कारोबार रकम भने घटेको छ । कुल ६७ करोड ९३ लाखको सेयर खरिदबिक्री भएको छ । पछिल्ला दिनमा बजार घट्दा कारोबार बढ्ने र बजार बढ्दा कारोबार घट्ने गरेको देखिएको छ ।
अघिल्लो दिन २१ अंकले घटेको बजारमा ७६ करोडको कारोबार भएको थियो । यस दिन उत्पादन समूह ४ अंकमा रातो रह्यो भने अरु सबै हरियोमा रहे । बिमा समूह सबैभन्दा बढी १२१ अंकले बढेको छ ।
बैंकिङ ९, होटल १९, विकास बैंक २०, जलविद्युत १८, फाइनान्स १ र अन्य समूह ८ अंकले बढे । कारोबार रकमका आधारमा स्टाण्डर्ड चार्टड बैंक अग्रस्थानमा रह्यो । सो बैंकको ५ करोड ३९ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।
बैंक अफ काठमाण्डुको २ करोड ८७ लाख तथा हिमालयन जनरल इन्स्योरेन्सको २ करोड ४९ लाखको कारोबार भयो । प्रभु र इन्भेष्टमेन्ट बैंकको पनि २–२ करोडभन्दा बढीको कारोबार भयो ।
ग्रीन डेभलपमेन्ट बैंकको मूल्य १० प्रतिशतले बढेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, हिमालयन डिष्टिलरी, कर्णाली विकास र युनाइटेड मोदीको मूल्य पनि ९ प्रतिशतभन्दा बढीले बढेको छ । बोटलर्स नेपाल तराइका लगानीकर्ताले ४ प्रतिशत मूल्य गुमाए ।