भरतपुर घटनाबारे टोलीले आयोगलाई प्रतिवेदन बुझायो
चितवन, १७ जेठ । भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा मतपत्र च्यातिएको विषयलाई लिएर निर्वाचन आयोगद्वारा गठित छानबिन टोलीले आज निर्वाचन आयोगमा आफ्नो प्रतिवेदन बुझाएको छ ।
आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार उक्त टोलीले आयोगमा आफ्नो प्रतिवेदन दर्ता गराएको हो । मतपत्र च्यातिएपछि निर्वाचन आयोगले सोमबार सहन्यायधीवक्ता गीताप्रसाद तिम्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव महेश आचार्य र प्रहरी नायब महानिरीक्षक केदारमान सिंह भण्डारी सदस्य रहेको छानबिन टोली गठन गरेको थियो ।
टोलीले सोमबार नै चितवन आएर काम थालेको थियो । हिजो दिउँसो काम सकेर फर्किएको टोलीले आज आफ्नो प्रतिवेदन आयोगमा बुझाएको हो ।
आयोग यो विषयलाई छिटो टुंग्याउने पक्षमा छ प्रवक्ता शर्माले भने, निर्वाचन आयुक्तहरुले सम्भवतः आजै बैठक बसेर यसबारे निकास निकाल्न सक्छ ।
टोलीमा सहजकर्ताका रुपमा सहभागी हुनुभएका उपसचिव कृष्ण अधिकारीकाअनुसार टोलीले आफ्नो राय दिन नमिल्ने भएकाले भेट गरेका व्यक्तिले जे–जस्तो बताएका छन्, ती भनाइलाई प्रतिवेदनमा समावेश गरिएको छ ।
सो टोलीले यहाँका राजनीतिक दलका प्रमुख, मुख्य निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख, मतगणनास्थलमा खटिएका सशस्त्र प्रहरीको टोली प्रमुखलगायत गणनामा सहभागी कर्मचारीसँगसमेत रायसुझाव लिएको थियो ।
आइतबार राति पौने १२ बजेको समयमा मतगणना हुँदै गर्दा दलका प्रतिनिधिले मतपत्र च्यातेका थिए । त्यस क्रममा प्रहरीले माओवादी केन्द्रका दुई जनालाई नियन्त्रणमा लिएको छ । मतपत्र माओवादी केन्द्रका प्रतिनिधिले च्यातेको दावी नेकपा एमालेको छ भने माओवादी केन्द्रले एमालेका प्रतिनिधिले मतपत्र च्यात्न खोजेपछि रोक्ने क्रममा मतपत्र च्यातिएको विज्ञप्तिमार्फत जनाएको छ ।
माओवादी केन्द्र र नेपाली कांग्रेसले मतपत्र च्यातिएको भरतपुर महानगरपालिका– १९ को मतदान पुनः गर्नुपर्ने माग गरिरहेका छन् भने एमालेले च्यातिएको मतपत्र छोडेर बाँकी मतपत्र गणना गर्नुपर्ने माग गरिएको छ । दलका प्रतिनिधिले गेटमा बसेर मतपत्रको सुरक्षा दिइरहेका छन् ।
भरतपुर महानगरपालिका– १९ को मतगणना अन्तिमचरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको हो । पछिल्लो मत परिणामअनुसार महानगरपालिका प्रमुख पदमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल भन्दा ७३३ मतले अगाडि रहेका छन् ।
महानगरमा एक लाख १२ हजार ७४१ मत खसेको थियो । यसैबीच नेकपा एमाले चितवनले तत्काल मतगणनाको माग गर्दै मङ्गलबारदेखि विरोधस्वरुप मतगणनास्थल बाहिर धर्नामा बसेका छन् ।