धनाढ्यको सूचीमा शेष घले १०१ स्थानमा
काठमाडौं, १२ जेठ । गैरआवासीय नेपाली संघका अध्यक्ष शेष घले र उनकी पत्नी जमुना गुरुङ अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा १०१ नंम्बरमा परेका छन् । सन् २०१६ मा सूचीको १०५ औं स्थानमा रहेका घले दम्पत्ति यो वर्ष १०१ स्थानमा उक्लिएका छन् ।
अघिल्लो वर्ष उनीहरुको कुल सम्पत्ति ५८ करोड ६० लाख डलर रहेकोमा यो वर्ष झण्डै १० प्रतिशत बृद्धि गर्दै ६४ करोड ७० लाख डलर पुर्याएको धनाड्यहरुको सूची प्रकाशन गर्दै आएको फाइनान्सियल रिभ्यू म्यागेजिनले जनाएको छ । म्यागेजिनले बिहीबार सन् २०१७ का धनाढ्यहरुको सूची प्रकाशन गरेको छ जसमा नेपाली मूलका घले दम्पत्तिले सम्पत्ति र सूची दुवैमा सुधार गरेका छन् ।
एमआइटी ग्रुप होल्डिङमार्फत् घले दम्पत्तिले शिक्षा र रियलस्टेट क्षेत्रमा लगानी गरिरहेका छन् । उनीहरुले संयुक्तरुपमा स्थापना गरेको मेलवर्न इन्स्टिच्यूट अफ टेक्नोलोजी एमआइटीमा बिभिन्न देशका करिव ३ हजार ५ सय विदेशी विद्यार्थी अध्ययनरत छन् । यसैगरी एमआइटी होल्डिङमार्फत् उनीहरुले रियल स्टेट तथा होटलमा लगानी गरिरहेका छन् । मेलवर्न र सिड्नीका केही महत्वपूर्ण भवनमा उनीहरुको स्वामित्व छ ।
सन् २०१३ यता बिश्वभर छरिएका नेपालीहरुको संस्था गैरआवासीय नेपाली संघ एनआरएनएको नेतृत्व गरिरहेका घलेले नेपालमा पनि लगानी गरिरहेका छन् । उनको लगानीमा काठमाण्डौमा शेराटन होटल निर्माण भइरहेको छ जसको लागत झण्डै १२ अर्ब रुपैयाँ अनुमान गरिएको छ । उनीहरुले हालै युरोपमा पनि होटल क्षेत्रमा लगानी विस्तार गरेका छन् ।
घले दम्पत्तिले नेपालमा परोपकारी क्षेत्रमासमेत काम गरिरहेका छन् । नेपालमा स्वास्थ्य र शिक्षा क्षेत्रमा लगानी गर्ने गरी उनीहरुले गत वर्षमात्रै एक अर्ब रुपैयाँको कोष घोषणा गरेका छन् । यो नेपालको अहिलेसम्मकै ठूलो निजी क्षेत्रको परोपकारी कोष हो । सन् १९९० को दशकमा विद्यार्थीका रुपमा अष्ट्रेलिया प्रवेश गरेका घले दम्पत्तिले त्यहाँ कठिन संघर्ष गरी सफलता हाँसिल गरेका हुन् ।
७० भन्दा धेरै देशमा सञ्जाल रहेको गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका घलेले सो संस्थामार्फत् नेपालको आर्थिक तथा सामाजिक विकासमा सक्रियतापूर्वक काम गरिरहेका छन् । भूकम्पपीडितका लागि एनआरएनए मार्फत् गोर्खाको लाप्राकमा नमूना वस्ती निर्माणको नेतृत्व गरिरहेका घले र उनकी पत्नी जमुना थुप्रै महिना निर्माण कार्यको अनुगमन गर्दै टेण्टमा बिताएका छन् ।