भोलि संसद् अधिवेशन अन्त्य हुने, महाअभियोग के होला ?

भक्तपुर न्यूज

३ जेठ २०७४ १५:०३

भोलि संसद् अधिवेशन अन्त्य हुने, महाअभियोग के होला ?

काठमाडौं, ३ जेठ । व्यवस्थापिका संसद्को‌ अधिवेशन बिहीबार अन्त्य गर्ने सरकारले तयारी गरेको छ । तर, अधिवेशन अन्त्यपछि प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध दर्ता भएको महाअभियोग के होला भन्ने प्रश्न उठेको छ ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार, बिहीबार नै संसद अधिवेशन गर्ने समझदारी भएको छ । सभामुखले प्रधानमन्त्रीसँग परामर्श गरेर अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिश गर्ने व्यवस्था छ । संसद् अधिवेशन अन्त्य गर्ने र आगामी बैठक कहिले राख्ने भन्नेबारे गृहकार्य गर्न विहीबार बिहान मन्त्रिपरिषद् बैठक बस्दै छ ।

संसद् अधिवेशन अन्त्य गर्ने तयारी भइरहँदा संसद्‌मा विचाराधीन महाअभियोगको भविष्य के होला भन्ने अन्योल देखिएको छ । संसद्को‌ एउटा अधिवेशनमा विचाराधीन विधेयकहरु अर्को अधिवेशनमा स्वतः जान्छ । तर, प्रस्तावहरु भने स्वतः निस्क्रिय हुन्छ ।

कार्कीविरुद्धको महाअभियोगको भविश्य के हुन्छ भन्ने अन्योल छ । महाअभियोग अघि नबढाउन सर्वोच्चले अन्तरिम आदेश दिएको छ । र, दर्ता गर्ने दल कांग्रेस र माओवादी तत्काल फिर्ता लिने मुडमा छैनन् । प्रधानन्यायाधीश कार्कीले सर्वोच्चको आदेशपछि काममा फर्किए पनि मुद्दा हेरेकी छैनन् । उनले जेठ २४ गते अवकाश पाउँदै छिन् । कांग्रेस र माओवादी केन्द्र कार्कीले अवकाश नपाएसम्म महाअभियोग फिर्ता लिने पक्षमा छैनन् ।

संसदको बजेट अधिवेशन भने जेठको दोस्रो साता बोलाउने तयारी छ । बजेट जेठ १५ मा नै ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएकाले बजेट अधिवेशन बोलाउन लागिएको हो । प्रधानमन्त्री प्रचण्डले बजेट अधिवेशनअघि संसदलाई सम्बोधन गरेर पदबाट राजीनामा दिने र कामचलाउ सरकारले निर्वाचनलाई असर नपार्ने गरी बजेट ल्याउने स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *