काठमाडौमा ३ मा काँग्रेस ४ मा एमालेको अग्रता
काठमाडौ, २ जेठ । काठमाडौ महानगरपालिका वरपरका १० मध्ये ७ नगरपालिकाको ताजा मतपरिणाम सार्वजनिक भएको छ। सम्बन्धित मत अधिकृतहरूले दिएको सूचनाअनुसार ७ नगरपालिकामध्ये गोकर्णेश्वर, चन्द्रागिरी र टोखामा कांग्रेस अगाडि छ भने तारकेश्वर, बुढानिलकण्ठ, शंखरपुरा र दक्षिणकाली नगरपालिकामा एमाले अग्रस्थानमा छ।
चन्द्रागिरी नगरपालिकामा कांग्रेसले २२५६ मत ल्याएको छ भने दोस्रो स्थानमा रहेको एमालेको १११९ मत छ। यहाँ माओवादी केन्द्रको ७९३ मत छ। गोकर्णेश्वर नगरपालिकामा कांग्रेस ९४४ मत ल्याएर अगाडि छ। टोखा नगरपालिकामा पनि कांग्रेसले १९९१ मत ल्याएको छ। यहाँ एमाले १४२२ मतसहित उसलाई पछ्याइरहेको छ।
तारकेश्वर नगरपालिकामा अग्रस्थान लिइरहेका एमाले उम्मेदवारले ७८७ मत ल्याएका छन् भने कांग्रेसले ६६७ मत ल्याएर पछ्याइरहेका छन्। तेस्रो स्थानमा रहेका माओवादी केन्द्रको १०२ मत छ। बुढानिलकण्ठ नगरपालिकामा एमालेले १४९१ मतसहित अग्रता लिएको छ। यहाँ कांग्रेसको ११०९ मत छ भने माओवादी केन्द्रको ३३१ मत छ।
शंखरपुर नगरपालिकामा एमाले १४८२ मतसहित पहिलो स्थानमा छ भने कांग्रेस ९१६ मत ल्याएर पछ्याइरहेको छ। यहाँ माओवादी केन्द्रले ११८८ मत ल्याएको छ। दक्षिणकाली नगरपालिकामा एमालेले १३०० मत ल्याएको छ। दोस्रो स्थानमा रहेको कांग्रेसले १२०० मत ल्याएको छ ।